सहकारीलाई समृद्धिको आधारको रुपमा विकास गर्ने कार्य अघि बढाएका छौंः मन्त्री श्रेष्ठ

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकी छिन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३० औं साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता आंैल्याउँदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तिकरण मार्फत गरीवी न्युनिकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वास समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पूँजी र प्रविधिलाई एकिकृत गर्ने, बृहद सञ्जालीकरण मार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताइन् ।

सहकारी र बैंकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामुहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामुहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहेतापनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले औंल्याइन् । 

उनले सहकारी आधारभुत मुल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने होकी भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सबै पक्ष लाग्नुपर्ने बताइन् ।

बचत तथा ऋण सहारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यवहारिक समस्या छन् भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको पनि बताइन् ।  बचत तथा ऋण सहकारी संस्थाहरुलाई सीमान्तकृत समुदायमा विशेष कार्यक्रम मार्फत पहुँच स्थापित गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुको एकीकरण मार्फत बलीयो संस्था बनाउन, कृषि, उत्पादनप्रति केन्द्रित गर्न र समग्र गुणस्तर कायम गर्न सबैको प्रयास आवश्यक रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभाग मार्फत सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा निशर्त आबद्ध हुने र सहकारी विभाग मार्फत जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न आग्रह समेत गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।