अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा,करयुद्धका कारण व्यवसाय संकटमा

0
Shares

विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका न्छ । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन ।

चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन । उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए ।

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा रहनेछन । छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ ।

विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजश्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले ठूलै असर पारेको छ । अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महंगो हुँदै गएको छ । अनलाइन बिक्रीमा पनि सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ । चीनकै पनि आर्थिक वृद्धिमा मन्दी आएको छ ।

अलिबाबाका अनुसार, तैपनि अघिल्लो वर्षको तुलनमा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजश्व आम्दानीका कारण सिर्जना भएको हो । अलिबाबाको इ–कमर्श प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जबकी अमेरिकाको सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ । झाङ यसअघि एकाउन्टेन्ट रहनुका साथै अलिबाबा कम्पनीका प्रमुख योजनाकार थिए। उनले यसअघि कम्पनीकै अर्को सहायक टीमाल डट कमको बिजनेस एकाईको अध्यक्षका रुपमा कार्य गरेका थिए ।

प्रकाशित मिति: २४ भदौ २०७६, मंगलबार  १५ : १५ बजे