इच्छाराजको ऋण असुल्न सीटीसी मल लिलामी गर्ने सञ्चयकोषको अल्टिमेटम

0
Shares

कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम दिएको छ । कोषले सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण चुक्ता नगरे धितो लिलाम गरेर रकम असुली गर्ने बताएको हाे ।

कोषले धितोको रुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ । कोषले उक्त धितो लिलाम गरेर सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवाना चुक्ता गर्ने जनाएको छ ।

पटक–पटक भाखा नाघेको ऋणको साँवा–ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको कोषले जनाएको छ। कोषले सिभिल इस्टेट्सका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका छन् । सिभिल सहकारी ठगी प्रकरणमा तामाङ सहित १२ जना प्रहरीको हिरासतमा छन् ।

तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।