बैंकहरुले ब्याजदर बढाए पनि निक्षेप बाहिरिने क्रम रोकिएन, तीन दिनमै ८ अर्बले घट्यो

0
Shares

कात्तिकको तुलनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएपनि वाणिज्य बैंकहरुबाट निक्षेप घट्ने क्रम रोकिन सकेको छैन । मंसिर महिनाको पहिलो तीन दिनमा नै वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप हराएको छ ।

मंसिर लागेयता अधिकांस वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर ९.३६ प्रतिशतबाट बढाएर १०.०५ प्रतिशत पुर्याएका छन् । बैंकहरुले ब्याजदर बढाउँदा समेत बैंकहरुबाट निरन्तर निक्षेप घटिरहेको छ । कातिक महिनामा मात्रै वाणिज्य बैंकहरुबाट ३६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । कात्तिको अन्तिम साता बैंकहरुमा १५ अर्बले निक्षेप बढेपनि मंसिरको पहिलो साता भने ८ अर्ब रुपैयाँले घटेको छ ।

चालु आर्थिक वर्षको मंसिरकोे पहिलो सातामा ८ अर्ब रुपैयाँ निक्षेप घट्दा यो अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका छन । वाणिज्य बैंकहरुमा भन्दा विकास बैंक तथा फाइनान्समा उच्च ब्याजदर पाइने हुँदा निक्षेप सरेको अनुमान गरिएको छ । कतिपय संस्थाहरुको निक्षेप सहकारीहरुले समेत तान्दा वाणिज्य बैंकहरुबाट निरन्तर निक्षेप घटेको हुनसक्ने बैंकरहरुको अनुमान छ ।

‘बैंक वित्तीय संस्थामा निक्षेप राखेर ब्याज आम्दानी गर्नेका लागि राष्ट्र बैंकको नीतिगत हस्तक्षेप बाधक बन्यो । त्यसले गर्दा ब्याजका लागी निक्षेप राख्ने निक्षेपकर्ता निरास भएपछि बैंकहरुमा निक्षेप नथपिएको हो । बैंकहरुको भन्दा विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर धेरै भएपछि बैंकको निक्षेप समेत ‘ख’ र ‘ग’ वर्गका संस्थामा गएको अनुमान गर्न सकिन्छ।’ एक बैंकरले भने ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएयता अर्थात साउनदेखि मंसिर ३ गतेसम्ममा ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने पछिल्लो यसअवधिमा बाणिज्य बैंकहरुमा २४ अर्बले मात्र निक्षेप थपिएको छ ।

चालु आर्थिक वर्ष सुरु भए यता नै बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहे पनि कर्जा विस्तारमा भने आक्रमक देखिएका छन । कर्जा विस्तारको तुलनामा बैंकहरुमा निक्षेप नथपिँदा तरलता संकटको समस्या झनै चुलिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप ’सिसिडी’ अनुपात हटाएर कर्जा निक्षेप ’सिडी’ अनुपात कार्यान्वयनमा ल्याएसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक बन्दा तरलता अभाव गहिरिदैँ गएको हो।

गत असारमसान्तसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ एक अर्ब निक्षेप रहेकोमा मंसिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैंकहरुको कर्जा विस्तार ४० खर्ब ४१ अर्ब पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ