अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौं’ ले आईपीओ जारी गर्ने

0
Shares

व्यावसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौं’ ले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

गत कात्तिकदेखि संचालनमा आएको हायात प्यालेसले जारी पूँजीको १० प्रतिशत शेयर अंकित मूल्य १०० मा आईपीओ जारी गर्ने छ। जसका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अन्तर्राष्ट्रिय ब्रान्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो । विश्वभर हायातका ३ सय ८५ स्थानमा यस्ता चेन होटलहरू रहेका छन् । ३ अर्ब ५० करोड रूपैयाँमा निर्माण गर्ने भनिए पनि कोरोना महामारीका कारण त्यसको लागत बढेर अहिले झन्डै ५ अर्ब रूपैयाँ लगानी पुगेको बताइएको छ ।

पाँच वर्षअघि निर्माण सुरु गरिएको यो होटल ताहाचलको सोल्टीमोड नजिकै रहेको छ । यो होटल १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । यसअघि अपार्टमेन्ट बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १५ तले भवनलाई पछि गोल्यान समूहले होटलमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ । त्यसैले, यो होटल व्यवस्थापनको जिम्मा पनि हायात प्यालेसले नै लिएको छ ।

होटलमा १ सय ५३ वटा कोठा छन् । जसमा तीनवटा स्विट रुम छन् भने १ सय ५० वटा स्ट्यान्डर्ड रुम छन् । जसमध्ये पनि सातवटा रुममा टेरेसको सुविधा रहेको छ ।

हायात प्यालेस काठमाडौं होटलमा १० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेसे रुम) सहित कुल १ सय ५३ जना कोठा क्षमता रहेको छ । यस होटलमा एउटा अल डे रेस्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल (२४सै घण्टा फिटनेस क्लब), साना तथा ठूला सभा–समारोह आयोजना गर्नका लागि ५० देखि ४ सय जना क्षमताको चारवटा बैंक्वेट हल रहेका छन् ।

ग्राहकको सुविधाका लागि चिल्ड्रेन स्विमिङ पुल, सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ । हरेक रुमदेखि रेस्टुरेन्टसम्म नेपालको मौलिक कला संस्कृति झल्किने वस्तुहरू सजाएर राखिएका छन् ।

गोल्याण ग्रुपको मुख्य लगानी रहेको होटलमा कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।