चार महिनामै ब्यापार घाटा पौने ६ खर्ब, निर्यातमा शतप्रतिशत बढोत्तरी

0
Shares

चालु आर्थिक वर्षको चार महिनामा उच्च आयातका कारण देशको वैदेशिक ब्यापार घाटा पौने ६ खर्ब पुगेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको हो । गत आवको प्रथम चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेकोमा ५६.८३ प्रतिशतले ब्यापार घाटा बढेको हो ।

समीक्षा अवधिमा नेपालबाट अन्य मुलुकमा हुने वस्तु निर्यात १०४.२९ प्रतिशतले बढेको छ । कार्तिक महिनासम्ममा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

भन्सार विभागको अनुसार आयात पनि साढे ६१ प्रतिशतले बढेको छ । कार्तिक मसान्तसम्ममा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६१.५७ प्रतिशतले अर्थात २ खर्ब ४७ अर्ब धेरै हो । गत आवको यसै अवधिमा ४ अर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यता आयातमा आएको उच्च वृद्धिका कारण बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता अभाव बढेको छ । साउन यता ७० अर्ब हाराहारीमा निक्षेप बढेकोमा वस्तु आयातका कारण कर्जा लगानी ३०० अर्ब बढीले बढेको छ । हरेक महिना दश प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारी खर्च बढ्न नसक्दा बैंकिङ्ग प्रणालीम तरलता अभाव भएको छ । अर्थमन्त्रीले बुधबार मात्रै एक महिनाभित्र पनि पूँजीगत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताएका छन् ।

मन्त्री शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाएका छन् । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

नेपालको कार्तिक मसान्तसम्मममा वैदेशिक व्यापार ६५.४५ प्रतिशतले बढेर ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यस्तो व्यापार गत आवको यसै अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड २ लाख रुपैयाँ बराबरको थियो ।

S.N. Trade Indicators FY 2077/78 (First four Months) FY 2078/79 (First four Months) Change (%)
1 Imports (Rs.in `000) 402,490,178 650,294,313 61.57
2 Exports (Rs.in `000) 40,200,064 82,124,295 104.29
3 Trade Deficit (Rs.in `000) 362,290,113 568,170,018 56.83
4 Total  Foreign Trade (Rs.in `000) 442,690,242 732,418,608 65.45
5 Imports/Exports Ratio 10.01 7.92 -20.91
6 Exports Share to Total Trade (%) 9.08 11.21 23.48
7 Imports Share to Total Trade (%) 90.92 88.79 -2.34

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।