प्रथम चौमासिकमा ५३ अर्बको पेट्रोलियम पदार्थ आयात

0
Shares

चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा छिमेकी मुलकु भारतबाट ५२ अर्ब ९९ करोड ८७ लाख ९१ हजार रुपैयाँको इन्धन आयात गरिएको छ ।

अघिल्लो आवको चार महिना अवधिको तुलनामा इन्धन आयातमा खर्च हुने रकम १२०.२८ प्रतिशतले बढेको हो ।

विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ ।

चार महिनामा डिजेल मात्रै ३४ अर्ब ३३ करोडको रहेको छ । पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँको आयात भएको छ । यस अवधिमा ४ हजार ६८८ वटा वस्तु आयात भएकोमध्ये डिजेल पहिलो नम्बरमा रहेको छ भने पेट्रोल पाँचौं धेरै आयात हुने सूचीमा छ ।

यस अवधिमा ४ लाख ६४ हजार ५९३ किलोलिटर डिजेल र २ लाख ४२ हजार १८४ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको चार महिनामा ३ लाख ८६ हजार ६६८ किलोलिटर डिजेल र १ लाख ७१ हजार २१८ किलोलिटर पेट्रोल आयात भएको थियो । परिमाण र मूल्यमा आएको बढोत्तरीले एक वर्ष अवधिमा इन्धन आयातमा खचिर्नुपर्ने रकम २८ अर्ब ९३ करोड ९५ लाख रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ को चार महिनामा २४ अर्ब ५ करोड ९२ लाख ७१ हजार रुपैयाँको इन्धन आयात गरिएको थियो । अघिल्लो आव २०७७/७८ को चार महिना अवधिमा सबैभन्दा धेरै डिजेल १६ अर्ब ३७ करोड ९९ लाख रुपैयाँको आयात भएको थियो । यस्तै सातौं ठूलो आयात भएको पेट्रोल ७ अर्ब ६७ करोड ९२ लाख रुपैयाँको आयात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आव २०७८/७९ को पहिलो महिनाको तथ्यांकअनुसार ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ वैदेशिक ब्यापार भएकोमा ६ खर्ब ५० अर्ब २९ करोडको बस्तु आयात भएको छ भने ८२ अर्ब १४ करोड ४२ लाख रुपैयाँ बराबरको वस्तुको निर्यात भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार  १९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।