दुई वाणिज्य बैंक र एक इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश खाने विचारमा हुनुहुन्छ भने ती कम्पनीहरुको लाभांश पाउन शेयर खरीद गर्ने बिहीबार अर्थात आज अन्तिम दिन हो ।
यसरी लगानीकर्ताले लाभांश खान शेयर खरीद गर्ने वा लाभांश नखाई शेयर बिक्री गर्ने फैसाला गर्ने अन्तिम दिन आज हो । आइतबारदेखि यी कम्पनीहरुको शेयर खरीद गर्ने लाभांश पाउँदैनन भने आइतबारदेखि शेयर बिक्री गर्नेले भने शेयर बिक्री गरेपनि लाभांशको हकदार हुनेछन् ।
साधारण सभाका लागि हुने लाभांशको बुकक्लोज मितिले नै सम्बन्धीत लगानीकर्ताले लाभांश पाउने कि नपाउने भन्ने निर्धारण हुन्छ । बुकक्लोज मितिभन्दा पछि शेयर बिक्री गरेपनि लाभांश पाइन्छ भने बुकक्लोजको अघिल्लो दिनसम्म शेयर खरीद गरी शेयरधनी दर्ता किताबमा शेयरधनी भएको खण्डमा मात्र प्रस्तावित लाभांश पाइन्छ ।
यसअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश खाने कि नखाई शेयर बिक्री गर्ने भन्ने अन्तिम निर्णय बिहीबार गर्न सकिन्छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि स्ट्याण्डर्ड चार्टर्ड र बैंक अफ काठमाण्डू लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स तीनवटाले नै मंसिर १० गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित सहितका अन्य प्रस्तावहरु पारित गर्नका लागि स्ट्याण्डर्ड चार्टर्डले मंसिर २९ गते मंगलबार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा बोलाएको छ । यस्तै बिओकेले मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा साधारण सभा बोलाएको छ । र प्राइम लाइफले मंसिर १९ गते, आइतबार चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया