अन्नपूर्ण केबलकारको परीक्षण सुरु, अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनको तयारी

0
Shares

पोखरामा निमार्ण गरिएको अन्नपूर्ण केबलकार परीक्षण सञ्चालनमा आएको छ ।

फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार गत शुक्रबारदेखि परीक्षण सञ्चालनमा आएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए।

सन् २०२१ को अप्रिलबाटै संचालन गर्ने लक्ष्य राखिएको भएपनि कोरोना महामारीका कारण निर्माण अवधि २०२२ फेब्रुअरी पुगेको हो । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण गरिएको त्रिपाठीले बताए। स्टेशनसहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले पनि निमार्ण लब्बिएको थियो ।

केबलकारमा जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले धमाधम काम गरिरहेको निर्देशक त्रिपाठीले जानकारी दिए । उनले भने, “ अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन ल्याउने तयारीमा छौ, फेब्रुअरीदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आउँछ ।” 

अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गरिने र अहिले लोड परीक्षणको काम भइरहेको उनले बताए ।
२.४ किलोमिटर लम्बाइको उक्त केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन्। प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिँदै आएको छ भने व्यावसायिक रुपमा केबलकार सञ्चालन भएसँगै एक सय जनासम्मलाई प्रत्यक्ष रुपमा रोजगारी दिने भएको छ ।

केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफूहरुले विकास गर्न खोजेको अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ्ले बताए । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार भन्दा यो केबलबारमा नयाँ प्रविधि प्रयोग गरिएको गुरुङको भनाई छ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने भएको छ। प्रालिले सराङ्कोटमा भ्यूटावर पनि तयार गरिसकेको छ। केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने गुरुङले बताए । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ ।

केबलकार निर्माणमा लागत भने बढेको छ। केबलकार सम्पन्न हुँदा १ अर्ब लगानी हुने भनिएकोमा लागत बढेर २ अर्ब नाघ्ने भएको छ । कम्पनीले केबलकार निमार्णका लागि राष्ट्रिय वाणिज्य बैंक, सनराइज र नेपाल बंगलादेशबैंक समेतबाट गरी एक अर्ब १० करोड कर्जा लिएको जनाएको छ ।

नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्कः ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिक लगायतका लागि विशेष छुटको समेत व्यवस्था गरिने निर्देशक त्रिपाठीले जनाए । विदेशीहरुका लागि भने ७ सय र ८ सय रुपैयाँ भाडा कायम गरिएको छ । एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए।

पोखराको युवा व्यवसायी अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङसहितको टोलीले ४ वर्षअघि केबलकार निर्माण सुरु गरेको थियो। केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।