नेप्सेमा सुधारको संकेत, लगानीकर्ता ‘पर्ख र हेर रणनीति’ मै हुँदा कारोबार भने खुम्चियो

0
Shares

शेयर बजार परिसूचक मापक नेप्सेमा सुधारको संकेत देखिएको छ । बुधबार नेप्से ५.२८ अंकको वृद्धि देखिएको छ । सूचकमा सुधार आएपनि बुधबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले घटेको छ ।

मौद्रिक नीतिको पहिलो समीक्षालाई लिएर घटाइएको बजार बुधबारदेखि लयमा फर्कने संकेत देखिएको हो ।

यसबीचमा सूचीकृत कम्पनीको मूल्यमा उच्च गिरावट आइसकेको अवस्था छ । लगानीकर्ताले सस्तो मुल्यमा शेयर बिक्री गर्न नखोज्नु तथा खरीदकर्ताले पनि अहिले नै बजारमा बढेर शेयर किन्न नखोजी पर्ख र हेर रणनीति अवलम्बन गर्दा कारोबारमा संकुचन आएको छ ।

बुधबार २२३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता शेयर ३७ हजार ५८५ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ६४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ पुगेको छ । मंगलबार ३ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये चार वटा घटेका छन् भने आठ वटा बढेको छ । होटल, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमाको सूचक घटेको हो । बढेका सूचक पनि १ प्रतिशतभन्दा कम मात्र बढेको छ । अन्य सर्वाधिक ०.८९ प्रतिशतले बढ्दा उत्पादन ०.८९ र ब्यापार ०.४३ प्रतिशतले बढेको छ ।

नेपाल टेलिकम कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । कम्पनीको १४.५३ करोडको शेयर कारोबार भएको हो । यसैगरी हिमालयन डिष्टिलरी १०.५१ करोड र महिला लघुवित्तको ९.३० करोडको शेयर कारोबारमा आएको छ । आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कारणले पनि लघुवित्तको तेस्रो ठूलो कारोबार भएको हो ।

नेशनल हाइड्रो, महालक्ष्मी विकास बैंक, अपि पावर, एचआईसिसीएल, मुक्तिनाथ विकास बैंक, समृद्धि फाइनान्स र नबिल बैंक शीर्ष करोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ५.५८ करोडको शेयर कारोबारमा आएको छ ।

बुधबार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर मूल्य बढ्दा र कर्पोेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.३९ प्रतिशतले बढाइएको छ । दिनभरमा सामलिङ्ग पावरको १६० कित्ता र न्यादी हाइड्रोपावरको १५० कित्ता मात्र शेयर कारोबारमा आएको छ । सर्वसाधारणमा शेयर जारी गरी हालै मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएका दुबै कम्पनीको शेयर बिक्री चाप न्यून भई खरीदतर्फ उच्च चाप बढ्दा साताको चौथो कारोबार दिन दुबै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ४१.९० रुपैयाँले वृद्धि हुँदै प्रतिशेयर ४६१.४० रुपैयाँ पुगेको छ । उता न्यादी हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशत (३४.१० रुपैयाँ) ले बढेर ३७५.६० रुपैयाँ पुगेको छ ।

आजको बजारमा समृद्धि फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता आईसिएफसी फाइनान्सको शेयर लगानीकर्ताले बुधबार पनि सर्वाधिक गुमाएका छन् । जीटिसी र मार्केट अर्डरको कारोबार मार्फत सेयर खेलाडिले तीव्र चलखेल गरी मूल्य बढाइएकाले पछिल्लो दिनमा फाइनान्सको शेयरमूल्य घट्दो छ । बुधबार पनि ५.६२ प्रतिशत अर्थात प्रतिशेयर ५० रुपैयाँ घटेर मूल्य ८४० मा झरेको छ ।

युनाइटेड इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, र प्रुडेन्सियल इन्स्योरेन्स र सबैको लघुवित्तको शेयरमूल्य पनि साढे २ प्रतिशतभन्दा बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।