एनएमबि बैंक लिमिटेड (NMB) ले एशियाकै सर्वोत्कृष्ट ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड प्राप्त गरेको छ ।
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो ।
द फाईनान्सियल टाइमसको द बैंकर म्यागेजिनले १०३ बर्ष अघि देखि विश्वका उत्कृष्ट बैंक अवार्ड प्रदान गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन् ।
यस अवार्डको लागि एशियाका ४८ वटा देशका बैंकहरु प्रतिष्पर्धामा रहेका थिए । ४८ देशका बैंकहरुलाई पछाडि पार्दै एनएमबि बैंकले यो अवार्ड हात पारेको हो ।
‘बैंक अफ दि इयर एशिया २०२१’अवार्ड प्राप्त गरेसँगै एनएमबी बैंकले इतिहास रच्दै एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको हो । यो अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक हो ।
यससँगै एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने पहिलो बैंक तथा पाँच वर्षमा चौथोपटक बैंक अफ इयर समेत बनेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले १३ वर्षको बैंकिङ करियरमा एनएमबी बैंक यो स्थानमा पुग्नु गर्वको कुरा भएको बताए ।
सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य-पूर्वी युरोप, एसिया, अमेरिका, मध्य-पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा-छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।
बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ। दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो ।
परम्परागत बैंकिङ भन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कल मार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र “एनएमबि सापटी” मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यसको साथै बैंक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिती सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य बैंक पनि हो । बैंकको देशभरी २०१ शाखाहरु छन् जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया