विवाहको सिजनले पहिरन बनाउन बुटिकलाई भ्याई नभ्याई, १० लाखसम्मका पहिरन लगाउँछन् बेहुली

0
Shares

विवाहको महिना भनेर समेत चिनिने मंसिर लागेपछि राजधानीका बुटीकहरुलाई अहिले विवाहका पहिरन बनाउन भ्याई नभ्याई छ ।  विशेषत मंसिर, माघ, फागुन जस्ता महिनाहरुमा विवाहका लगानहरु धेरै हुने भएकाले यतिबेला बुटीकहरुलाई नयाँ नयाँ डिजाइन र फेसन अनुरुपका पहिरिनहरु बनाउने चटारो बढेको हो ।

यसै बेला राजधानीका बुटीकहरुमा विवाह तथा इङ्गेजमेन्टका लागि माग अनुसारको कपडा सिलाउन भ्याई नभ्याई छ । बुटीक पसलहरुमा ग्राहकको भीड उतिकै देखिन्छ । कोभिडको समयमा सटर बन्द गरेर बसेका बुटिकहरुलाई पछिल्लो समय बढेको उच्च मागका कारण हर्ष र उत्साह पनि निकै बढेको छ ।

आजकाल विवाह विभिन्न चरणहरु मनाइने गरिन्छ । इङगेजमेन्ट, मेहेन्दी, विवाह, पाटी तथा फोटो सुटमा फरक फरक डिजाइनका र रङका पहिरन लगाइने गरिछ । आफ्नो आर्थिक क्षमता अनुसार विभिन्न चरणहरुमा विवाह मनाउने प्रचलन बढेकाले सोही अनुसार समयक्रममा विभिन्न डिजाइनका पहिरनहरु लगाइने गरिन्छ । यसले पनि नयाँ डिजाइन र फेसका पहिरनको माग उच्च हुने गरेको छ ।

समयसँगै अहिले युवतीहरूमा विवाहमा प्रयोग हुने कपडाको रङ्गमा परिवर्तनको इच्छा नभएको होइन तर हाम्रो संस्कार एवं परम्परालाई सहजै परिवर्तन गर्न नसकिने भएर दुलहीको अनुहारको रंग र बनोटअनुसार रातो, मरुन, रानी र गुलाबी मिसाएर अलग स्वरूपमा पहिरन तयार पार्ने प्रयास गरेको डिजाइनरहरु बताउँछन् । दुलहीहरूको विवाह पहिरनमा विविधता पाइन्छ । त्यसमाथि डिजाइनरहरूले ग्राहकको बजेटअनुसार पहिरन तयार गरिदिने भएकाले पनि आफूलाई सुहाउने पोसाकप्रति दुलहीहरूको लगाव बढ्दैछ । 

अठार वर्षदेखि काभ्या बुटिक फेसनमा डिजाइनर र सीईओ समेत रहेर उमा निमकुलले काम गरिरहेकी छिन् । उनी हाल कोभिडको असर सामान्य भइसकेकाले पनि ब्यापार बढेको बताउँछिन् । निमकुलले भनिन्, “कोभिडको समयमा सरकारले निश्चित व्यक्तिभन्दा धेरैलाई जमघट हुने रोक लगाएपछि धेरै विवाहहरु रोकिएको थियो । अहिले बिहेको साइत पनि धेरै छ, कस्टुमरको फ्लो पनि राम्रो छ ।”

इङ्गेजमेन्ट देखि विवाहसम्म बेहुलाको पहिरन

हाम्रो समाजमा विवाहलाई सुन्दर, अस्मिरणीय एवं सुखद् उत्सवका रूपमा लिइन्छ । यस्तो शुभ अवसरमा आकर्षक देखिने चाहना सबैमा हुनु स्वाभाविक हो । त्यसैले विवाहमा अहिले फेसनको चमक बढ्न थालेको छ ।

विवाहको पहिलो खुड्किला इङ्गेजमेन्ट हो । यस समयमा पहिरनबाटै बेहुलाको व्यक्तित्व झल्किने हुनाले बेहुलाले पहिरनमा अलि बढी ध्यान दिने गर्दछन् । अन्य समयमा फेसनमा रुची नराख्ने व्यक्तिहरुमा पनि विवाहमा भने फेसनेबल र नयाँ नयाँ डिजाइनको कपडा लगाउने सोख रहन्छ ।

पाटनढाेका ललितपुरमा रहेकाे काभ्या बुटिककी फेसन डिजाइनर उमा निमकुल अन्य समयमा इङ्गेजमेन्ट त्यति तामझामका साथ नहुँने हुँदा यस समयमा बेहुलाले कोट पाइन्ट नै रोज्ने गरेको बताउँछन् । यो समयमा लगाइने कोट पाइन्ट १५ हजार रुपैयाँसम्मान तयार हुने गरेको उनले बताइन् ।
पछिल्लो समय विवाहमा दुुलाहाले लगाउने पहिरनमा धेरै परिवर्तन आएको छ । एक समय थियो जुन बेला बेहुलाले विवाहमा सुट पहिरिएका हुन्थे । तर समयसँगै अहिले पहिरन पनि फेरिएको छ । अहिले धेरैले विवाहमा पारम्परिक पहिरन दौरा–सुुरुवाल, शेरवानी, पाइजामा लगाउन थालेका छन् ।

शेरवानी भारतीय पहिरन भए पनि अहिले नेपालीहरूको रोजाइमा पर्न थालेको छ । विवाहमा मोती, माला, पोते जडित शेरवानी लगाउने गरिन्छ । जाडो याममा विवाह हुँदा कतिपयले ऊनको शेरवानी लगाउने गर्छन् । विवाहमा बेहुलाले लगाउने पहिरन न्यूनतम १८ हजार र आफ्नो क्रय क्षमता अनुसार त्यसभन्दा माथि हुने गरेको काभ्या बुटिककी फेसन डिजाइनर निमकुल बताउँछिन् । त्यसैगरी पार्टी तथा फोटोसुटमा बेहुलाले सुट नै लगाउने गरेका छन् ।
बेहुलीको पहिरन

इङ्गेजमेन्ट

इङ्गेजमेन्ट बेहुलीका लागि पनि विवाहको पहिलो चरण हो ।

यस समयमा बेहुलीको पहिरनले पनि सुन्तरतामा थप प्रभाव पार्छ । पहिले पहिले इङ्गेजमेन्ट टिकाटालो, (बिहेको छिनोफानो) मा बेहुलीले सारी वा कुर्ता पहिरिने प्रचलन थियो । तर आजभोली भने साडी, लेँहेगा, गाउन लगाउने गरेका छन् । निमकुलका अनुसार इन्गेजमेन्टमा आजभोली बेहुलीका लागि गुलाबी तथा हरियो लेहेँगाको माग बढी हुने गरेको छ ।

 

कपडामा सम्झौता गर्ने र मन बुझाउने भन्ने कुरा आजका दुलहीहरूका लागि असम्भव नै छ । इन्गेजमेन्टदेखि विवाहपछिका पार्टी एवं भेटघाटका लागि फरक फरक पहिरनमा देखिने चलन छ । डिजाइन र फेसनमा पनि परिवर्तन आएको छ । युवतीहरू जाडो होस् वा गर्मी सुन्दरता र ग्ल्यामरमा कुनै कमी भएको रुचाउँदैनन् । फेसनप्रतिको यही उत्साह र लहरलाई बुझेर डिजाइनर एवं व्यवसायीहरूले विवाहमा विशेष पहिरन बजारमा ल्याउने गरेका छन् । इन्गेजमेन्टमा गुलाबी, रानी, गोल्डेन, सेतो, पहेंलो आदि रंगको प्रयोग हुन थालेको छ ।

हल्दी मेहेन्दी

आजभोली विवाह एउटा पाटो बनेको छ हल्दी मेहेन्दी तथा संगित । यस कार्यक्रममा दुलहीले हरियो, पहेंलो, गुलाबी, मेहन्दीको रङसँग मेल खाने कुर्ता, लेहेँगा तथा साडी लगाइरहेको हुन्छन् । यने चरणका लागि सोही अनुरुपका पहिरनको माग हुने गरेको छ । यस समयमा लगाउने बस्त्रहरुको मूल्य न्यूनतम ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

विवाह

विवाह भन्ने वित्तिकै सौभाग्य र प्रेमको प्रतीक रातो रंगको कुरा आउँछ । त्यसमा पनि दुलहीको अनुहारको बनोटअनुसार रातो, मरुन, रानी र गुलाफी रङ्ग मिसाएर विभिन्न डिजाइनका पहिरन तयार गर्ने गरिन्छ ।  विवाह विशेष लेहेँगाको मूल्य १० हजार देखि अधिकतम १० लाख बढी रुपैयाँसम्म पर्ने गरेको उमा बताउँछिन् । ग्राहकको माग अनुसार यस्तो लेहङ्गा तयार पार्न १५ देखि २० दिनसम्म लाग्ने गरेको छ ।

विवाह तथा पार्टी वेयरका लागि भने स्काई ब्लु, गोल्डेन, ग्रीन, प्याजी आदि रंग प्रयोग भएका लेहेंगाको माग बढेको डिजाइनरहरु बताउँछन् । विवाहमा प्रयोग हुने पहिरनमा साडी र ब्लाउज सधैं एक नम्बरमा पर्छन् । भनिन्छ साडी र ब्लाउजमा लगाउने व्यक्तिको व्यक्तित्व देखिन्छ, त्यसैले जति नै परिवर्तन र आधुनिकता भित्रिए पनि साडीको पहिरनको आकर्षण घटेको छैन । अहिले साडीमा जर्जेट, फ्रेन्च सिफन, नेट, जापानीज सिफन, सिन्थेटिक, क्रेभ तथा सिमरको प्रयोग बढी देखिन्छ । साडीमा विभिन्न फूल र पातका बुट्टा ग्राहकको मागअनुसार नै भरिन्छ । विवाहको दिनलाई बढी रातो र मरुन जाने गरेको छ ।

मंसिर जाडो मौसम भएकाले कतिपयले विवाहको अवसरमा पस्मिना, स्लिक र पस्मिना सिफनको साडी पनि रुचाउने गरेका छन् । यस्ता साडीको मूल्य १४ हजारदेखि ४० हजारसम्म पर्ने गरेको छ । साडीमा स्टोन, डाइमण्ड, सोरसोकी, मोती, सितारा एवं पोतेले मागअनुसार बुट्टा भरिने गरिन्छ । साडी लगाउनेहरूका लागि ब्लाउज, कम्मर पेटी, सितारा, पोते एवं डाइमण्डले भरिएको हुन्छ । मखमलको रातो चप्पल र रातो व्यागसहित पूरै सेट नै पाइन्छ । साडीसँग पस्मिनाको पछौरी पनि प्रयोग गर्ने चलन छ । यी सामान भारत, जापान, फ्रान्स, हङकङ, सिङ्गापुर, इटाली आदि देशबाट भित्रिने गरेका छन् । अहिले हातले भरिएका साडीको माग पनि उच्च नै हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।