मौद्रिक नीतिपछि २१८ अंकले ओरालो लागेको सेयर बजार सूचक मापक नेप्सेमा साताको दोस्रो दिन सोमबार ३२.२२ अंकको बाउन्स ब्याक भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लगानीकर्ता असन्तुष्ट भई मनोबल कमजोर हुँदा बजार ओरालो दिशातर्फ लागेको थियो । तरलता र ब्याजदरको चेपुवामा परेको सेयर बजारमा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाले धितोकर्जामा लागू ४।१२ को सीमा हटाउने आशा लगानीकर्ता थिए । तर समीक्षामा लगानीकर्ताको माग बमोजिम उक्त विषय सम्बोधन नभएपछि बजार खस्किएको थियो । सोमबार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आइतबार २ जनामा पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएपछि बजार फेरि लयमा फर्किएको हो ।

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनः दुई जनामा पुष्टि
सोमबार नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६।०८ बिन्दुमा पुग्दा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ७।६३ अंकले बढेर ४८०.९७ बिन्दुमा पुगेको छ । नेप्से १.२८ र सेन्सेटिभ इन्डेक्स १.६ प्रतिशतले बढेको हो ।
सोमबार २५१३.८७ बिन्दुमा खुलेका बजार सूचक एक घण्टामा ७३.६३ अंक घटेर २४४०.२४ बिन्दुसम्म झरेको थियो । त्यसपछि बढ्न थालेको बजार सूचक १०५.८४ अंक बढेर बजार बन्द भएको हो ।
आज कूल २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर ६९ हजार ८८८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ पुगेको छ । बजारमा आएको वृद्धिले कारोबार रकम समेत अघिल्लो दिन आइतबारको तुलनामा ४५ करोडले बढेको छ ।
कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचक उकालो लागेसँगै नेप्सेमा चमक फर्किएको हो । डेभलपमेन्ट बैंक समूहको सूचक सबैभन्दा धेरै ३.४५ प्रतिशत बढेको छ । जलविद्युत २.८८ प्रतिशत, फाइनान्स २.५४ प्रतिशत, अन्य १.६१, होटल १.३९, लघुवित्त १.३५ र उत्पादन तथा प्रशोधनमुलक सूचक १.०६ प्रतिशतले बढेको छ । बाँकी एक प्रतिशतभन्दा कम बढेका छन् ।
सोमबार नबिल बैंक लिमिटेडको सर्वाधिक १७ करोड १५ लाख ९३ हजार १२८ रूपैयाँको कारोबार भएको छ । यसैगरी नेशनल हाइड्रोपावर १५.३२ करोड, हिमालयन डिष्टिलरी १४.९७ करोड, महालक्ष्मी विकास बैंक १४.९७ करोड, नेपाल टेलिकमको १३.९२ करोड र अपि पावरको १३.२१ करोड रुपैयाँ शेयर कारोबारमा आएको छ ।
सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लागेसँगै लघुवित्तको सेयर मूल्य १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ९.५५, साहस उर्जा ८.१७, महुली लघुवित्तको ७.६९ र बोटलर्स नेपाल तराइको सेयरमूल्य ७.३७ प्रतिशतले बढोत्तरी भएको छ । घलेम्दी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, र युनियन लाइफको मूल्य पनि ६ प्रतिशत धेरैले बढेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा
उता अघिल्लो आवको तुलनामा गत आवबाट आधा मात्र लाभा.श प्रस्ताव गरेपछि जनउत्थान सामुदायिक लघुवित्ति वित्तीय संस्था लिमटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । लघुवित्तको सेयर मूल्य ६.८८ प्रतिशतले घटेर २ हजार ६४० रुपैयाँमा झरेको छ । अघिल्लो आवमा ५२ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आवबाट २६ प्रतिशत मात्र लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
यसैगरी न्यादी हाइड्रोपावरको ४.७१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी संस्थापक २.९७ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य २.६५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया