नाडाको आगामी नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा

0
Shares

अटोमोबाइ व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको आसन्न निर्वाचनका लागि दुई प्यानल चुनाबी मैदानमा उत्रिएका छन् ।

आगामी नेतृत्वका लागि ध्रुव थापा र करण चौधरीले आ आफ्नो प्यानल सार्वजनिक गरेर चुनाबी मैदानमा होमिएका हुन । मंसिर २२ र २३ गते राजधानीमा हुने साधारण सभाले नाडाको नयाँ नेतृत्व चयन गर्दैछ ।

’अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ थापाले उम्मेदवारीसँगै आफ्नो टिम घोषणा गरेका छन भने नाडाको हाल रहेको कार्यसमितिको झण्डै ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गर्दै चौधरीले प्यानल खडा गरेका छन ।

अध्यक्ष पदका उम्मेदवार धुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन । थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेका छन्।

त्यस्तै अमरज्योति रञ्जित, बि।एन। पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि।एस कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरु समूह थापाको प्यानलमा रहेका छन । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको हो थापाको दाबी छ ।

चौधरीको प्यानलमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, अग्नी इन्कर्पोरेटका निर्देशक बरदान बस्नेत, हिरो मोटोकर्पका अमिक ज्योती, आईएमई मोटर्सका निशान ढकाल, पार्टस् आयातकर्ता भावना विजनेश लिंकका सुनिल रिजाल, डिलरका तर्फबाट एनएमबी अटो विजनेशका अनुप कुमार बराल छन् ।

त्यसै गरि ल्यूबबाट पिएलओ लुब्रिकेण्ट्सका निर्देशक सुरेन्द्रकुमार उप्रेती, टायरतर्फबाट डेल्टा टायरका बिक्रम सिंघानिया, रिसिभ ट्रेडिङका मिलनबाबु मल्ल, पार्टस्बाट विभिन्न ब्राण्डका बितरक पंकज अग्रवाल र पार्टस रिटेलर निलमणी पाठक पनि चौधरीको प्यानलमा छन् । मोफसलको प्रतिनिधित्व गराउन चौधरीले चितवन अटो मेकानिकल संघका पुर्वा अध्यक्ष गोपाल भट्टराईलाई पनि प्यानलमा सहभागि गराएका छन् भने पार्टस् व्यवसायी देवराज भण्डारी, पार्टस् डिलर आशुतोष अटोमोबाइल्सका राजेन्द्र अग्रवाल, लुब्रिकेन्ट्स् व्यवसायी वर्ण न्यौपाने तथा नेपाल ल्युबका गंगाराज भट्टराई र प्रकाश कपुरीलाई आफ्नो प्यानलमा अटाएका छन् ।

अध्यक्ष पदका प्रत्याशी थापाले आफ्नो टीममा व्यवसायीक सदस्यहरु रहेको दाबी गर्दै आएका छन । उनले प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने प्रतिवद्धता अघि सारेका छन ।

थापाले अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता जनाएका छन ।

यता अध्यक्षका प्रत्यासी करण चौधरीले टीमसँगको विश्वासमा अघि बढ्ने बताउँदै आएका छन । नाडा नेतृत्वमा पुगेर आफ्नो व्यवसायको नाफा नोक्सान नभई समग्र व्यवसायको हीतका लागि काम गर्न अटो व्यवसाय भित्रका सबै धारका व्यक्तिलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै आएका छन ।

मंसिर २२ र २३ गते राजधानीमा हुने साधारण सभाले नाडाको नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचनमा अध्यक्षको एउटा र बाँकी १७ जनाको एउटा मत पत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । अध्यक्ष बाहेकको मतपत्रमा १७ जनालाई अनिवार्य रुपमा मतदान गर्नु पर्ने व्यवस्था गरिएको छ । १७ जनालाई मतदान नगरेको खण्डमा मत बदर हुने भन्दै उम्मेदवारहरुले सबै पदमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।