
शेयर बजारलाई उद्दारको खाँचो देखिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजार क्र्यासको दिशातर्फ पुगेको हो ।
लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा रौनकता हराएको छ भने कारोबार रकम पनि घटेर साढे २ अर्ब हाराहारीमा झरेको छ । यो साताको ४ कारोबार दिनमा १३०.३९ अंकले घटेको बजार पछिल्लो २ दिनमा मात्रै ९०.२८ अंकले घटेको हो । निरन्तरको गिरावटले बजारबाट लगानीकर्ताहरु भाग्न थालेका छन् भने संस्थागत लगानीकर्ताको समेत बजारमा उपस्थिति निकै बमजोर देखिएको छ ।
पूँजी बजारलाई नकारात्मक असर पारेको नीतिगत व्यवस्थामा परिमार्जन गर्न नियामक निकायलाई पटक पटक अनुरोध गरेपनि सुनुवाई नगरेपछि विरोधस्वरुप लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत ‘नो भोट’ अभियान नै चलाएका छन् । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेप्स दुबैको नेतृत्व खाली रहेकाले पनि बजारमा चलखेल गर्ने समुहलाई समेत उपयुक्त समय मिलेको छ । अर्कोतर्फ बैंकिङ्ग प्रणालीमा तरलता अभावले कर्जा पाउने अवस्था छैन भने ब्याजदर बढ्दा समेत पूँजी बजारमा नकारात्मक असर पुगेको छ ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से ५३.१० अंकले घटेर २४५५.८० बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३४ अंकले घटेर ४६४.७९ बिन्दुमा झरेको छ ।
यसदिन २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर ४२ हजार ९४६ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँ पुगेको छ । कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेका छन् । ब्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्सको सूचक ३ प्रतिशत बढीले घटेको बजारमा होटल, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र लगानी सूचक पनि २ प्रतिशत धेरैले घटेको छ ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरीद बिक्री भएको हो ।
नेपाल टेलिकम १०.९१करोड, हिमालयन डिष्टिलरी ९.४६ करोड, महालक्ष्मी विकास बैंक ९.१९ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनी ७.७९ करोड र अरुण काबेली पावरको ७.०२ करोडको सेयर खरीद बिक्री भएको छ । नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर, फरवार्ड लघुवित्त, र आईसिएफसि फाइनान्स शीर्ष दश ठूलो कारोेबार हुने कम्पनीमा समेटिएका छन् ।
यसदिन स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेर ५५०.८० रूपैयाँ पुगेको छ । मैलुङ्गखोला जलविद्युतको १.८९, सनराइन लार्ज क्याप फण्ड १.६१ र नेपाल एसबिआई बैंकको सेयरमूल्य १.४० प्रतिशतले बढेको छ ।
उता लाभांश नदिने घोषणा गरेसँगै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८.५४ प्रतिशतले घटेको छ । आज एकैदिन लघुवित्तको सेयरमूल्य १०९ रुपैयाँले घटेर ११६८ रूपैयाँमा झरेको छ ।
यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको ८.३० प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त, सामलिङ्ग पावर, र जनउत्थान लघुवित्तको सेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ । सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, घलेम्दी हाइड्रोपावर र साहस उर्जाको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया