बैकका कर्मचारी निक्षेप खोज्दै मालपोतमा, ठूलो रकमको चेक साट्न आनाकानी

0
Shares

बैंक तथा वित्तीय संस्थाका कर्मचारी पछिल्लो समयमा मालपोत कार्यालय धाउन थालेका छन् । बैंकहरुले कर्जा लगानी योग्य रकम र तरलता अभावको समस्या जटिल बनेपछि नयाँ निक्षेपका लागि कर्मचारीलाई मालपोत कार्यालय खटाउन थालेका हुन् ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थामा नयाँ निक्षेप थपिने भन्दा पनि भएकै झिकिँदै आएको छ । बैंक वित्तीय संस्थामा भएको निक्षेप घट्दै जादाँ पनि कर्जा लगानीको गतिमा भने कमी आउन सकेको छैन ।

ब्याजदरमा प्रतिस्पर्धा गर्नका लागि नेपाल राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेर सीमा नै तोकिदिएको अवस्था छ ।

मंसिर महिनामा वाणिज्य बैकहरुले १०.०५, विकास बैंकहरुले १०.२५ र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत भन्दा बढी ब्याजदर दिन नसक्ने अवस्था छ ।

ब्याजदरमा प्रतिस्पर्धा गरेर नयाँ निक्षेप आकर्षित गर्नका लागि पनि राष्ट बैंकको नीति बाधक बनेपछि बैंकका कर्मचारी बजारीकरणका लागि मालपोत कार्यालय पुग्ने गरेको एक बैंकरले बताए ।

“बैंक वित्तीय संस्थाको कर्जा लगानी गर्ने अवस्था छैन,” ती बैंकरले भने,“जग्गाको कारोबार बढेको हुनाले निक्षेप ल्याउन सकिन्छ की भनेर मार्केटिङ गर्दैै बैंक वित्तीय संस्थाका कर्मचारी मालपोतसम्म पुगेका छन् ।” मालपोत कार्यालय मात्र नभई सम्भावना भएका स्थानहरुमा बैंकका कर्मचारीहरु पुगेको अवस्था रहेको उनले बताए । कर्जा दिनका लागि नयाँ निक्षेप ल्याउनै पर्ने अवस्था भएकाले पनि बैंकहरुले कर्मचारीलाई आर्थिक कारोबार धेरै हुने क्षेत्रहरुमा बजारीकरणका लागि पठाउने गरेको उनको भनाई छ ।

ठूलो रकमको कारोबार हुने क्षेत्रमा मात्र नभई बैंकका कर्मचारीहरु ठुलो रकमको चेक साट्न सर्वसाधारणको घरसम्म पनि पुग्ने गरेका छन् । कुनै पनि व्यक्ति वा संस्थाले ५० लाख रुपैयाँसम्मको भुक्तानी दिनका लागि चेक जारी गरेको अवस्थामा बैंक वित्तीय संस्थाका कर्मचारी जसको लागि चेक जारी गरिएको हो सो व्यक्तिको घरसम्म पनि पुग्ने गरेको अवस्था छ ।

केही दिन अघि मात्र एक धितोपत्र दलाल आफ्नो ग्राहकलाई भुक्तानी दिनु भन्दै विकास बैंकको चेक थमायो । तर, बैंकले त्यो चेक नसाट्नका लागि धेरै बाहाना बनायो । त्यती मात्र नभई चेक जारी गर्नेलाई समेत केही दिन निक्षेप होल्ड गरिदन समेत आग्रह गर्ने गरेका छन् । त्यति हुदाँ पनि धितोपत्र दलाल कम्पनीले आफ्ना ग्राहकको भुक्तानी रोक्न नमिल्ने भनेपछि ग्राहकलाई सोही बैंकमा खाता खोलेर निक्षेप राख्न लगाउने गरी सटही सुविधा प्रदान गर्न सकिने भन्दै ग्राहकको घरसम्म बैंक बित्तीय संस्थाका कर्मचारी पुगेको अवस्था छ ।

बैंक वित्तीय संस्थामा देखिएको निक्षेप अभावले नयाँ कर्जा प्रवाहमा मात्र नभई निक्षेप झिक्न् समेत सहज छैन् । यो अवस्थामा पनि बैंकहरुले कर्जा विस्तारलाई भने कम गरेका छैनन् । चालु आर्थिक वर्षको मंसिर महिनाको तेस्रो सातामा ७ अर्ब निक्षेप थपिदाँ १४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यसभन्दा अघिका सातामा बैंकहरुबाट निक्षेप घट्ने तथा कर्जा उच्च दरमा बढ्ने गरेको अवस्था थियो ।

वित्तीय प्रणालीमा तरलताको अभाव जटिल बन्दै गएपछि नेपाल राष्ट्र बैंकबाट दैनिक २० देखि ५० अर्ब भन्दा माथिसम्म ५ प्रतिशतको दरमा स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका छन् । त्यसैगरी कर्जा लगानी गर्ने अवस्था नभएपछि कर्जा बिक्री गर्ने क्रम पनि बढेको छ । यो आर्थिक वर्षमा बैंक वित्तीय संस्थाहरुले हालसम्म २१ खर्ब ८२ अर्ब रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेको अवस्था छ।

पछिल्लो समयमा आयात उच्च दरमा बढ्नु तथा सरकारले राजस्व संकलन गरेर खर्च नगर्ने समस्याले पनि वित्तीय प्रणालीको समस्या जटिल बनेको हो । सरकारले आर्थिक वृद्धि देखाउनका लागि आयातलाई बढवा दिएकाले पनि बैंक वित्तीय संस्थामा तरलता अभावको समस्या बढेको हो । त्यसका साथै अनौपचारिक अर्थतन्त्रमा पनि उत्तिकै सबल भएपछि बैंकिङ प्रणालीको पैसा त्यता तर्फ गएकोले पनि समस्या जटिल बनेको बैंकहरुको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।