लक्ष्य भेट्टाउन भन्सार कार्यालयहरुले थाले राजश्व गस्ति

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले गत कार्तिक २२ गते सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि विभिन्न चुनौतीका बीच तोकिएको भन्दा २०० प्रतिशत बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

अर्थमन्त्रीले यसो बताइरहँदा देशकै प्रमुख तथा भन्सार कार्यालय वीरगन्जले नै कार्तिक महिनामा लक्ष्य अनुरुपको राजश्व उठाउन सकेन । सो कार्यालयले कार्तिकका लागि तोकिएको लक्ष्यको ९७.२० प्रतिशत मात्र राजश्व संकलन गर्यो ।

कोभिड संक्रमणको असर न्यूनीकरण हुँदा पछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भएको उच्च आयातका कारण सरकारले तोकेको लक्ष्यभन्दा धेरै राजश्व संकलन गरेपनि कार्तिकदेखि भने घट्न थालेको हो । यस अवधिमा धेरै राजश्व संकलन हुने मालवस्तुहरु पेट्रोलियम पदार्थ र अटोमोबाइल्सको आयात भएकाले राजश्व लक्ष्य भेटेको थियो ।

प्रमुख भन्सार कार्यालयमै मासिक राजश्व लक्ष्य अपुग भएपछि अर्थमन्त्री शर्माले राजश्व संकलन बढाउने वैकल्पिक योजना बनाएर मन्त्रालयमा पठाउन प्रमुख भन्सार अधिकृतहरुलाई दिएका थिए ।

मन्त्रीको निर्देशन अनुरुप आफुहरुले पनि वैकल्पिक योजना बुझाएको उनको भनाई छ । राजश्व बढाउनका लागि अहिले भैरहेको योजनालाई नै बुष्ट गर्नेगरी प्रकृया अगाडि बढाउन आफुहरुले अर्थमन्त्रीलाई सुझाव दिएको उनले बताए ।

अर्थमन्त्रीको २०० प्रतिशतले राजश्व बढाउने नीति र आयातमा निर्भर रहेको राजश्व घट्दा भन्सार कार्यालयलाई भने राजश्व संकलन बढाउन दबाब परेको छ ।

देशकै प्रमुख तथा भन्सार कार्यालय वीरगन्जले राजस्व बढाउनका लागि चोरीबाट हुने निकासी।पैठारी रोक्न योजना बनाएर नै लागेको छ । दैनिक विभिन्न स्थानमा राजश्व गस्ति टोली बनाएर भन्सार गस्ति बढाउन थालिएको छ ।  उनले भने, “गस्ति ठाउँ नतोकी गोप्य रुपमा हुन्छ, वीरगन्ज भन्सार कार्यालय अन्तर्गत ११ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् । ११ मध्ये पाँच वटा सञ्चालन गरेका छौं । छोटी भन्सारको आसपासबाटै चोरी निकासी।पैठारी हुने भएकाले तिनै स्थानमा गस्ति बढाइएको छ ।”

भारतसँग खुल्ला सीमानाका कारण समेत राजश्व चुवाहट हुने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पौडेलले राजश्वबाटै देश सञ्चालन हुने भएकाले आफुहरुको पहिलो प्राथमिकता नै राजश्वको लक्ष्य हासिल गर्ने हुने बताए । जसका लागि ट्रेड अफेन्सेस तथा राजश्व चुवाहट हुने स्थानहरुमा कडाई गर्न थालिएको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कात्तिकसम्म यो भन्सारले ६५ अर्ब ११ करोड ४१ लाख लक्ष्य पाएकोमा ७० अर्ब १२ करोड १४ लाख राजश्व असुली गरेको छ  । मंसिर महिनामा १७ अर्ब ४९ करोडको राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा २४ गतेसम्ममा १५ अर्ब ५३ करोड संकलन गरिसकेको प्रमुख पौडेलले बताए ।

अर्थमन्त्रीको निर्देशन अनुसार कार्य अगाडि बढाएपनि भन्सारबाट सामान नै नभित्रिएपछि राजश्व बढ्न नसकेको उनले बताए । कार बनाउनका लागि चाहिने चिप्स बनाउने कम्पनीहरु लकडाउनका कारण बन्द हुँदा माग अनुसार गाडी उत्पादन हुन नसकि आयात घट्दा पनि राजश्व संकलन प्रभावित भएको उनको भनाई छ ।

वीरगन्ज भन्सारबाट प्राप्त हुने करमध्ये ४६ प्रतिशत तथा कुल राजश्वको १९ प्रतिशत प्राप्त हुने गरेको छ । चालु आवमा सो भन्सार कार्यालयलाई सरकारले २०३ अर्ब राजश्व लक्ष्य दिएकोमा कार्तिक मसान्तसम्म ७० अर्ब १२ करोड रुपैयाँ संकलन गरेको हो ।

यस अवधिमा यो भन्सार नाकाबाट इन्धन, नयाँ सवारी साधन, औद्योगिक कच्चा पदार्थ आदि बढी आयात भएका छन् । त्यसैगरी भारत तथा तेस्रो मुलुकतर्फ भटमासको तेल, जुस, पिना, सूर्यमुखीको तेल, सेन्थेटिक यार्न, स्पोर्टस जुत्ता आदि निकासी भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  १९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।