चालु आर्थिक वर्षको चौथो महिनामा कात्तिकमा मात्र एक खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बरावरको आयात भएको छ । सो अवधिमा नेपाल बाट १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो ।
निर्यात गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकमा क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो ।
वैदेशिक व्यापार (चार महिना) निर्यात आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो । चालु आवको ४ महिनामा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया