बैंक वित्तीय संस्थाले धितो मूल्याङ्कनकर्तासंग विस्तृत सम्झौता गर्नुपर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङकनकर्ता सूचीकृत गर्दा काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व खुलाई सम्झौता गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले धितो मूल्याङकनकर्तालाई पनि उत्तरदायी बनाउने नयाँ व्यवस्था गरेको हो ।

पछिल्लो समयमा धितो मुल्याङ्कनकर्ताहरुले जिम्मेबार नहुने खालको आसय देखाएपछि केन्द्रीय बैंकले निर्देशन मार्फत धितो मूल्याङकनकर्तालाई पनि जिम्मेबार बनाउन खोजेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्याङकनकर्ता सूचीकृत गर्दा मुल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्नेछ ।

त्यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन गर्नुपर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी राष्ट्र बैंकले कर्र्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा धेरै भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने व्यवस्था गरेको छ । यसका लागि तोकिएको कर्जा–निक्षेप अनुपातको पालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने समेत व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । उक्त अनुपातलाई २०७९ असार मसान्तसम्ममा निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समयमा बैंंक तथा वित्तीय संस्थाले फिक्स्ड इन्ट्रेस्टमा पनि ब्याजदर बढाउने प्रयास गरेपछि राष्ट्र बैंकले केही कडाई गरेको छ । कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने छ । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था गरेको जानकारी केन्द्रीय बैंकले दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।