व्यापार बढाउन निजीक्षेत्रलाई सहुलियत दिने योजनामा नेपाल एयरलायन्स

0
Shares

नेपाल वायुसेवा निगमले आफ्नो व्यापार बढाउन निजीक्षेत्रलाई विशेष सहुलियत उपलब्ध गराउने योजना अघि सारेको छ । बर्षौदेखि घाटामा संचालनमा रहेको निगमले आफ्ना सुधारका कामहरु अघि बढाउने क्रममा व्यापार विस्तारका लागि निजीक्षेत्रसँग सहकार्य गर्ने भएको हो ।

पछिल्लो समयमा आफ्नो सेवाहरु सुधार गर्ने क्रममा राष्ट्रिय ध्वजा वाहक नेपाल एयरलायन्सले सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई समेट्नका लागि आर्कषक प्याकेज उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याएको हो ।

वायु सेवा निगमले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका उद्योगी व्यवसायीका छाता संगठनहरुसँग सम्झौता नै गरेर छुट उपलब्ध गराउन लागेको हो । छाता संगठनहरुको सिफारिसमा उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय उडानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने तयारी गरेको निगमका सञ्चालक किशोर प्रधानले जानकारी दिए ।

आफ्नो व्यापार व्यवसाय विस्तारको क्रममा बर्षेनी हजारौको संख्यामा नेपालका उद्योगी व्यवसायीहरु विदेश जाने आउने गरे पनि नेपाल एयरलायन्स कमै प्रयोग गर्ने गरेको अवस्थालाई मनन गर्दै छुट सुविधा उपलब्ध गराउन लागिएको नेपाल एयरलायन्सका संचालक एंवम नेपाल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष किशोर प्रधानले बताए ।

पहिलो चरणमा नेपाल उद्योग वाणिज्य महासंघसँग निगमले उद्योगी व्यवसायीलाई दिने छुटका सम्बन्धमा सम्झौता गर्ने तयारी गरेको छ । यसै साता महासंघसँग सम्झौता गर्ने तयारी भईरहेको बताउँदै प्रधानले अरु संस्थासँग पनि क्रमश सम्झौता गर्ने बताए ।

नेपाल एयरलाइन्सको फ्लाइट स्थगन तथा डिले हुने समस्यालाई पूर्ण रुपमा निराकरण गरिएको पनि उनले जानकारी दिए । फ्लाइट डिलेको समस्या समाधान भएसँगै भनेको समयमा गन्तव्यमा पुग्न सक्ने भएकाले पनि नीजि क्षेत्रका उद्योगी व्यवसायीलाई लक्षित गरेर छुटको व्यवस्था गरिएको उनको भनाई छ ।
यसका साथै क्याटरिङ सर्भिस, कार्यालय तथा जनसम्पर्क र टिकेटिङ प्रणालीमा धेरै सुधार गरिएको छ । यसबाट भनेको समयमा निगमको टिकट पाउनुका साथै जहाजमा उपलब्ध हुने सेवा पनि आकर्षक हुने निगमले जनाएको छ ।

उद्योगी व्यवसायीहरुले नेपाल एयरलायन्स प्रयोग गर्ने वातावरण बनाउन कै लागि नेपाल एयरलायन्सले ‘कनेक्टिङ फ्लाइट’ सुरु गरिसकेको पनि उनले बताए । एयरलायन्सले विभिन्न विदेशी हवाई कम्पनीहरूसँग मिलेर कनेक्टिङ फ्लाइट संचालन गरेकाले जुनसुकै देशमा जाने नेपालीका लागि पनि सहज हुने उनको भनाई छ । ‘कनेक्टिङ फ्लाइट’ संचालनको लागि नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच द्विपक्षीय (एसपिए) सम्झौता भइसकेको छ । यसले निगमको सिधा हवाई उडान नभएका मुलुकमा पनि निगमबाट टिक लिएर ‘कनेक्टिङ फ्लाइट’ बाट आफ्नो गन्तव्यमा पुग्न सकिन्छ ।

नेपाल एयरलायन्स मार्फत नै युरोपका विभिन्न सहरहरू, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा जाने यात्रुहरूले कनेक्टिङ फ्लाइटको सेवा लिन सक्नेछन् । निगमका अनुसार यात्रुहरूलाई कम ट्रान्जिट समय पर्ने गरी सम्झौता गरिएको छ भने यस दौरान फ्लाइट छुट्ने चिन्ता नहुने प्रधानले बताए ।

“यसले गर्दा नेपाल एयरलायन्सको नाममा काटिएको टिकटबाटै यात्रुहरूले अन्य एयरलायन्स कम्पनी हुँदै आफ्नो गन्तव्यमा पुग्न सक्नेछन ्। यस प्रकारको उडानबाट निगम र यात्रु दुवैलाई फाइदा पुग्नुका साथै निगमका यात्रु बढ्ने विश्वास लिएका छौ,” प्रधानले भने ।

यात्रुहरूले निगमको कार्यालय वा ट्राभल एजेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन् । साथै निगमले यात्रुहरुको सुविधाको लागि निकट भविष्यमा नै अनलाइन टिकेटिङ्गको सेवा पनि उपलब्ध गराउने भएको छ । मोबाइल बाट नै तत्काल टिकट दिन सक्ने व्यवस्थासँगै अन्य सेवामा सुधार गरी प्रतिष्पर्धी बन्ने योजना निगमले अघि सारेको छ ।

अन्तराष्ट्रिय मात्र नभई स्थानीय उडानहरुलाई समेत व्यवस्थीत गर्नका लागि निगमले सुधार योजनाहरु अघि सारेको जनाएको छ । यसै साता निगमको आगामी कार्ययोजनाका सम्बन्धमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराउने तयारी निगमले गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।