सरकारले लगानीकर्ताको विस्वास जगाउन नसक्दा शेयर बजारमा पहिरो

0
Shares

लगातार ओरालो लागेको शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर भईरहेको अवस्थामा सरकारले लगानीकर्ताको मनोबल बढाउने कुनै पहल कदमी नलिदा शेयर बजारमा पहिरो गएको छ ।

आइतबार नेप्से सूचक १७ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम २७ करोडमा सिमित भएको छ । आइतबार नेप्से परिसूचक १७.८७ अंकले घटेर ११४० अंकमा झरेको छ । यसदिन १६२ कम्पनीको १० लाख ९० हजार कित्ता शेयर २८ करोड ८० लाख रुपैयाँमा किनबेच भयो ।

बजार लगातार घट्दा शेयर लगानीकर्तामा मार्जिन कलको त्रास समेत बढेको छ । सरकारले बोनस र हकप्रद शेयरमा लाग्ने पूँजीगत लाभकर गणना विधि सरल नहुँदा पनि लगानीकर्तामा अन्योलता देखिन्छ ।

यसै साताबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ कानुन आउने बिषयले पनि लगानीकर्ताहरु अन्योलमा रहेको देखिन्छ । कम्पनी रजीष्टारको कार्यालयले आगामी बुधवारदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्दे्शिका जारी गर्दै छ । निर्दे्शिकामा १० लाख बढीको कारोबार गर्दा नै स्रोत खुलाउनु पर्ने तथा २५ लाख बढिको कारोबारमा सरकारले निगरानी गर्ने लगायतका प्रावधान रहेका छन्

चाडपर्वहरु नजिकिदैं गर्दा कतिपय लगानीकर्ताहरुले शेयर बेचेर रकम जोहो गर्न समेत थालेका छन् । यसले पनि बजारमा बिक्रीको चाप देखिएको छ । कतिपय लगानीकर्ताले भने बजार घटेर न्यून विन्दुमा पुग्दा यसलाई शेयर खरिदको अवसरको रुपमा समेत लिएका छन् ।

बजार अस्थिर रहेपछि नयाँ लगानीकर्ताहरु प्रवेश गर्ने आँट गर्न सकेका छैनन् भने पुराना लगानीकर्ताहरुले समेत लगानी बढाउन सकेका छैनन् । यसले पनि बजारमा माग सृजना हुन सकेको छैन ।

आइतबार कारोबारमा आएका एघार वटै समूहका उपसूचक घटेका छन्। सबैभन्दा बढी वाणिज्य बैंक समूहको १.८५ प्रतिशतले उपसूचक घटेको छ।