बीमामा पहुँच बढाउन स्थानीय तहमा बीमा समितिको सचेतना अभियान

0
Shares

स्थानीय तहमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई अभियानका रुपमा अगाडि बढाउने क्रममा आज प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विपद्बाट हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक क्षतिलाई न्यून गर्नका लागि उपमहानगरपालिकाले बीमा सम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बीमाको दायरामा ल्याउनुपर्ने बताए ।

उनले आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई स्वयम् नै बीमा गर्न प्रोत्साहित गर्न र न्यून आय भएका बर्ग पहिचान गरेर उनीहरुका लागि भने उपमहानगरपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिए।

अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रुपमा अगाडि बढाएको उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए । साथै, उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न र पशुपन्छी तथा कृषि बीमाको महत्वका बारेमा कृषकहरुलाई जानकारी दिन आग्रह गरे।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बीमाको दायरामा ल्याउनका लागि उपमहानगरपालिकाको आगामी बैठकमा बीमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने जानकारी दिए।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा दात्री भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बीमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका थिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।