हिमालयन बैंकसँगको मर्जर बारे निर्णय लिन नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ ।

बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।
उक्त विशेष साधारण सभाले हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक बराबर एक शेयर शेयर अनुपातमा मर्जरमा जान लागेका हुन ।

मर्जर पश्चात बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुनेछ । मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व परिवर्तन हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

विशेष सधारण सभा प्रयोजनका लागि बैंकले पुस २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मर्जर प्रकृयाका लागि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको गत मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

हिमालयन बैंकले पनि यहि पुस ३० गते गत आर्थिक वर्ष २०७७।७८ को साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभाको मुख्य एजेण्डा लाभांश र नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने नै रहेको छ । बैंकले चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र सोको कर सहित ४.६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

दुई बैंकले मर्जरमा जाने सम्झौता गरेपछि ७ महिनादेखि दुबै बैंकको सेयर कारोबार रोक्का छ । सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा तथा मर्जरबाट भएको लाभमा आयकर छली प्रकरणले पनि यी दुई बैंकको मर्जरमा अवरोध सिर्जना गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।