कृषिलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदलौँ – अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन। नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए ।

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । “कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उनले भने, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताए ।

राउटे समुदायका गङ्गादेवी पुरस्कृत

कार्यक्रममा जङ्गलमा बसोबास गर्दै आएको राउटे समुदायबाट कृषि सहकारीमा आबद्ध भई कृषि तथा पशुपालन गर्दै आउनुभएकी गङ्गादेवी राउटेलाई सम्मान गरिएको थियो ।

डडेल्धुराका गङ्गादेवीलाई अर्थमन्त्रीले सहकारीको तर्फबाट रु पाँच हजार प्रदान गरे। उहाँले मास खेती गर्नाका साथै एक दर्जन बढी बाख्रा पाल्नुभएको छ । बाख्राका पाठापाठी बिक्री गरेर गङ्गादेवीले वार्षिक रु ८० हजार आम्दानी गर्दै आएको पनि सङ्घले जनाएको छ । कृषि सहकारीबाट रु एक लाख कर्जा लिएर उनले कृषि तथा पशुपालन गर्दै आएकी छन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ पुस २०७८, शुक्रबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।