एक अर्ब ५३ लाख भ्रष्टाचार आरोपमा कृषि सामग्रीका प्रबन्ध सञ्चालक सहित १० जनाविरुद्ध मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १० जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिलोमतोमा गुणस्तरहीन मल खरीद गरेको अभियोगमा प्रतिवादी प्रत्येकलाई १ अर्ब ५३ लाख २२ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएकाे छ ।

आयोगले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप( प्रबन्धक पुष्कर दिप बुढा विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यसैगरी आयातित मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । यस्तै आयोगले मल आयात गर्ने जोशी बिज हाउस प्रालिका सञ्चालक विनित जोशीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

सरकारले तोकेको गुणस्तरमा नरहेको डीएपी मल खरीद गरेर आर्थिक अनियमितता गरेको कसुरमा विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

अख्तियारले सरकारले तोकेको गुणस्तरको मल नरहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल खरीद गरेको पाइएको बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७८, आइतबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।