
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जर तथा प्राप्तीमा लैजाने भएको छ ।
केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गर्दै एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै वा एकभन्दा बढी बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ५१ प्रतिशतभन्दा धेरै सेयर स्वामित्व भएका लघुवित्त संस्थाहरुलाई एक आपसमा मर्जर तथा एक्वीजिशनमा जाने कार्य योजना असार मसान्तभित्र पेश गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि यस्तो निर्देशन दिएको हो ।
उक्त निर्देशनमा भनिएको छ- ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको संस्थाहरु बीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।’
हालसम्म स्वेच्छिक मर्जर तथा प्राप्तीबाट संख्या घटाउने रणनीतिमा रहेको राष्ट्र बैंकले अब भने दबाब मार्फत नै संख्या घटाउने बाटो अख्तियार गरेको हो । राष्ट्र बैंकको अपेक्षाभन्दा निकै कम संस्था मात्र मर्जर तथा प्राप्तीमा सामेल भएपछि क्रस होल्डिङ लगानी रहेका संस्थाबाट मर्जरलाई अगाडि बढाइन लागिएको हो ।
सञ्चालनमा रहेका ७ दर्जन लघुवित्त कम्पनीहरुमध्ये अधिकांश बैंक तथा वित्तीय संस्थाले विभिन्न लघुवित्त वित्तीय संस्थामा क्रस होल्डिङ लगानी गरेका छन् । केन्द्रीय बैंकको निर्देशनसँगै क्रम होल्डिङ्ग भएका लघुवित्तहरुलाई मर्जर तथा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया