भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको व्याजदर बढाउने होइन घटाउनुपर्ने बताएकी छिन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले सहकारीमा व्याजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले भनिन् “सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढ्ने र तर घट्दा नघटने प्रवृति नेपालमा छ, त्यसकारण सहकारीको व्याजदर बढाउने होइन, देखिएका अप्ठ्याराहरु अर्को कुनै तरिकाबाट फुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि व्याजदर बढाउने नभई घटाउनुपर्छ”
सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनुपर्ने उनको भनाइ थियो । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दापनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको बताइन् ।
उनले सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न आाग्रह समेत गरिन् ।
यस्तै शुक्रबार नै साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताइन् ।
मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खराबी अन्त्यका लागि सबै लाग्नु पर्ने बताइन् । सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा उनको जोड छ ।
उनले संविधानमा व्यवस्था भएको तिनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताइन् ।
बजार अनुशासन, मर्यादा र कारोबारमा पारदर्शिता कायम गर्दै जनतालाई महसुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिइन् ।
समारोहमा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने सहकारीका अभियान्ता केशव बडाललाई मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार प्रदान गरेकी थिइन् ।











प्रतिक्रिया