पूँजी बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका छन् ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो चरणमा छनोटमा परेका ५ मध्येबाट ३ जनालाई छनोट गरी सिफारिस गरेको हो ।
समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशवप्रसाद श्रेष्ठलाई छनोट गरेको अर्थ स्रोतले जानकारी दिएको छ । सिफारिस समितिले सोमबार बिहान तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कुल ११ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा मेशकुमार भण्डारी, कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक र रमेश घिमिरेलाई छनौट गरेको थियो । उल्लेखित पाँच मध्येबाट दोस्रो चरणमा प्रविन पन्दाक र रमेश घिमिरे आउट भएका हुन् ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।
मन्त्रिपरिषदले सिफारिसमा परेकामध्येबाट एक जनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ । तत्कालीन नेप्सेका सीईओ चन्द्रसिंह साउदले बुक बिल्डङ्ग विधिबाट आईपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर श्रीमतीका नाममा खरिद गरेको पाइएपछि कार्यकाल सकिनुभन्दा एक महिनाअघि साउदले पदबाट राजीनामा दिएका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया