
तीन वर्षअघि निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।
त्यहाँस्थित हरिया बोटमा लटरम्म फलेको छ कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् ।
ती पौरखी किसान हुन्– गढवा –३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी । उनले व्यवासायिक रुपमा गर्नुभएको उन्नत जातको कागतीखेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ ।
उनले ‘डिएण्डके’ सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती गर्न थालेका हुन् । विसं २०७४ मा उनले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिए ।
उनले १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गरेका छन् भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरुवा खरिद गरी खेती थालेको उनको भनाइ छ ।
सो जग्गाको वार्षिक रुपमा दुई लाख भाडा तिर्नुहुन्छ । उनले अहिले दुई जनालाई पूर्ण रुपमा र सात जनालाई आंशिक रुपमा रोजगारी दिइरहेका छन् । उनले भने, “तीन वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । गतवर्ष राम्रो आम्दानी भयो ,यसपटक हालसम्म अर्थात पुस १५गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।
अहिले दैनिक बुटाबाट नै ५० देखि ६० किलोसम्म कागती बिक्री गरीरहेको छु । अहिले उनको कागती प्रतिकेजी १०० मा बिक्री भैरहेको छ ।“बाबु बाजेले धान, मकै, गहुँखेती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु, सफल पनि भएको छु ,” उनले भने ।
उनले कागती खेतीलाई आवश्यक पर्ने सिँचाइ र रोग लागेमा दक्षप्राविधक र कीटनाशक औषधिको प्रयोगबारे जानकारी तथा सहयोग गरीदिन सरकारलाई आग्रह गरे । यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले तीन लाख र कृषि ज्ञान केन्द्र घोराहीले दुई लाख अनुदान उपलव्ध गराएको जनाइएको छ ।
गत वर्ष कोरोना महामारीका बेला उत्पादन गरेको कागतीलाई बजारको कुनै समस्या नभएको ग्राहक बोटमै आउने प्रति किलो १५० सम्म हालेर लिने गरेकोसमेत बताए । उनको कागती फार्म यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले सञ्चारकर्मी, सर्वसाधारण, किसान र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने गरेको समेत उनले बताए ।
उनको कागती बगैँचामा भेटिनुभएका तुलसीपुर उपमहानगरपालिका–१० स्थायी घरभई हाल गोबरडिहामा डेरागरी बस्ने तेजप्रसाद शर्माले आफू चौधरीले गरेको कागतीखेती देखेर निकै उत्साहित भएको बताए । शिक्षण पेशा गदै आउनु भएका २७ वर्षीय उनले भने, “म यहीँ नजिकैको गाउँमा बस्छु प्रायः बेलुकी घुम्न कागती बगैँचामा नै आउने गरेको छु ।”
किसान चौधरीले नेपालमा ८० प्रतिशत कागती भारत लगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकोले आफूलाई यसखेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको बताउँछन् ।
पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागतीखेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतीमा लागेको उनको भनाइ छ । चौधरीले कृषि प्रधान हाम्रो देशमा यहाँ कृषिका अत्यन्तै राम्रो सम्भावना र यही माटोमा मेहनत गरे मनग्गे आम्दानी गर्न सक्ने बताउँछन् ।
उनले यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र कागती प्रशोधन केन्द्र खोल्ने आफ्नो योजना रहेको सुनाए । त्यस्तै कागती भण्डारण गर्नको लागि कोल्डस्टोर नहुँदा समस्या हुने गरेको समेत बताए ।
उनले वर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमूलक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आय आजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिए । यसको लागि अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबीउ, मल, सिँचाइको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै सीपमूलक कृषि कार्यक्रम दिनुपर्छ भन्नुहुन्छ उनी । ती विदेशिने युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालन ल्याउन सके ती युवाले स्वदेशमा नै राजगारी पाउनसक्ने उनको धारणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया