
बुटवल पावर कम्पनीको सोमबार रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा सम्पन्न भएको २९ औं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको सभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
साधारण सभा प्रयोजनार्थ पुस ११ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयधरनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
बुटवल पावरमा नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम सरकारको स्वीकृति लिएर उक्त नगद लाभांश वितरण गरिने सभामा जानकारी दिइयो ।
साथै सभाले तथा बोनस सेयर वितरणका लागि चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालक समितिको प्रतिवेदन, आव २०७७र ७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु लगायतका सञ्चालक समितिवाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।
यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालु आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले ९.४० मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् गृहहरु सञ्चालन गर्दै आएको छ । साथै सहायक तथा सम्बद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेवाको खुदी जलविद्युत् गृह र ६० मेवाको खिम्ती प्रथम जलविद्युत् गृहको सञ्चालन हुँदै आएको छ ।
खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा २०२० को जुलाईदेखि नेपाल विद्युत् प्राधिकरणमा गएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया