विवाहको लगन नजिकिँदा पनि सुनको कारोबार बढेन


विवाहको लगनन जिकिँदै गर्दा पनि सुनको कारोबार उत्साह जनक देखिएको छैन । माघ महिना लागेसँगै चहलपहल बढ्ने सुन बजारमा कोरोनाको तेस्रो भेरियन्ट अर्थात ओमिक्रोनको संक्रमण जोखिम बढेसँगै सुस्ताएको हो ।

माघ महिनामा विवाहको लगन पर्ने भएकाले अन्य समयको भन्दा बढी ब्यापार हुन्छ । विगतका वर्षहरुको तुलनामा यो माघ महिनामा सुनको व्यापार उत्साहजनक देखिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार विगत वर्षहरुमा अन्य महिनाको तुलनामा माघमा ५० प्रतिशत बढी सुनको कारोबार हुने गरेको थियो । सरकारले केही दिन अघि सभा, समारोह तथा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित नजानाउन आग्रह गरेसँगै सुनको कारोबारमा पनि त्यसको असर देखिएको महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताएका छन् ।

त्यसैगरी यसवर्ष माघ लाग्नै लाग्दा पनि ग्राहक नआउँदा व्यवसायीहरु चिन्तित देखिएका छन् । अघिल्ला वर्षहरुमा पुस १५ गतेबाट नै अर्डहरु आउने भएपनि यो वर्ष अग्रिम अर्डर नआएको व्यवसायीहरु बताउँछन् ।

विगतका वर्षहरुमा पुस १५ गतेबाटै अर्डहरु आउने गरेको महासंघका महासचिव धर्म रत्न बज्राचार्यले बताए । “कोभिडको तस्रो लहरका कारण हिँडडुल गर्ने अवस्था नै रहेन भने सुनको व्यवपार ठप्प नै हुने देखिन्छ,” उनले भने,“तर, अवस्था सामान्य नै रह्यो भने अबको ६ सात दिन देखि ४० किलोको हाराहारीमा सुनको माग हुन्छ ।”

अहिले बजारमा २५ देखि ३० किलो मात्र सुनको कारोबार रहेको महासंघले जनाएको छ । विवाहको सिजन अर्थात गत मंसिर महिनामा दैनिक ५० किलो बराबर सुनको माग भएको अध्यक्ष शाक्यले बताएका छन् ।

बजारमा सुनको कारोबार घट्दा साना व्यावसायी धेरै प्रभावित भएका छन् । दुई वर्षको कोरोना महामारीपछि सुचारु हुन थालेको व्यवसाय पुन शिथिल होला कि भन्ने चिन्तामा व्यवसायीहरु देखिन्छन् ।

महासंघका अनुसार सुनचाँदी व्यवसायमा २५ हजार व्यवसायी आबद्ध रहेका छन् । भने २ लाख कामदार तथा कालिगढ छन् । यस्तै यस व्यवसायमा १५ लाख जनसंख्या यस व्यवसायमा आश्रित रहेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।