सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ मा निर्माण हुने “छिन्चु बसपार्क” निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार भेरीगंगा नगरपालिका र नगर विकास कोष बीच उक्त ऋण सम्झौता भएको हो । नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाको तर्फबाट नगर प्रमुख भुपेन्द्र बहादुर चन्दू बीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर गरे।
यस आयोजना निर्माणको कुल अनुमानित लागत रकम १८ करोड ५८ लाख २० हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्क प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ ।
करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ ।
उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यू एवं उपप्रमुखबाट यस आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजनाले कर्णाली प्रदेशवासीलाई व्यवस्थित शहरी सेवा सुविधा प्रवाह गर्ने बताएका छन् ।
ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको वसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया