मुक्तिनाथ क्यापिटलले साधना लघुवित्तको बाँकी रहेको बोनस सेयर पठायो

0
Shares

मुक्तिनाथ क्यापिटलले साधना लघुवित्तको फ्र्याक्सनको सेयर एकिकृत गरेर सेयरधनीको खातामा पठाएको छ ।

क्यापिटलले मंगलबार साझ देखिनै शेयरधनीको खातामा बाँकी रहेको बोनस सेयर पठाएको हो ।

साधना लघुवित्तले साधारण सेयर निष्कासनपछि दुई आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको थियो । साधनाले आर्थिक वर्ष २०७६/०७७ मा १८ प्रतिशत र २०७७/०७८ मा २५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

सो अनुसार सार्वजनिक निष्कासन मार्फत १० कित्ता साधारण सेयर पाएका सेयरधनीसँग हाल १४.७५ कित्ता हुनुपर्छ । क्यापिटलले १३ कित्ता मात्र सेयरधनीको खातामा पठाएको थियो । बाँकी रहेको एक कित्ता सेयर पनि पठाएपछि सेयरधनीको खातामा १४ कित्ता सेयर कायम भएको छ । दशमलवपछिको ०.७५ कित्ता सेयर भने खातामा आउन बाँकी छ । यो बाँकी रहेको सेयर आगामी वर्षको लाभांसबाट एक कित्ता पुरा भएपछि मात्र आउँनेछ ।

अघिल्लो आर्थिक वर्षमा दिएको १८ प्रतिशत बोनस सेयरमा लगानीकर्ताको खातामा एक कित्ता मात्र आउँने भएपनि बाँकी ०.८ कित्ता होल्ड भएर बसेको थियो । त्यो होल्ड भएको बोनस सेयरलाई गत आवको लाभांसमा एकिकृत गरेर एक कित्ता पुरा भएपछि क्यापिटलले सम्बन्धीत सेयरधनीलाई दिएको हो ।

यस अघि क्यापिटलले दुई आर्थिक वर्षको खण्डित सेयर होल्ड गरेर डिम्याट खातामा पठाएको थियो । दुई आर्थिक वर्षको गरी खण्डित सेयर समायोजन गर्दा एक कित्ता वा सोभन्दा बढी हुने सेयर केही दिनमा नै सेयरधनीको खातामा जम्मा गरिने क्यापिटलले नोटबजारलाई जानकारी दिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।