आगामी जेठभित्र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आउँदा नेप्से १०५ अंकले बढेको छ ।
बालुवाटारमा शनिबार सम्पन्न गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न पाँच दलीय संयन्त्र मार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । त्यसैको सकारात्मक प्रभाव आज बजारमा सकारात्मक उछाल आएको हो ।
आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५ दशमलव ५३ बिन्दुमा पुगेको छ । नेप्से ३.८० प्रतिशतले बढेको हो । यसदिन २३१ वटा कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक, बृद्धभुमी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै हिमालयन उर्जा विकास कम्पनी, प्रोगेशिभ फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ ।
यसदिन म्युचुअल फण्डका इकाईहरु र डिबेञ्चरको मूल्यमा आज गिरावट देखिएको छ । ९.५० प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ को ३.२३ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को २.२३ प्रतिशत, मेगा म्युचुअल फण्ड १.९३ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड १.९० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड २ को १.३६ प्रतिशतले मूल्य घटेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको पनि सेयरमूल्य सामान्य घटेको छ ।

यसदिन अपि पावर कम्पनीको २६ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको ४ लाख ८५ हजार ८१४ कित्ता सेयर खरीद बिक्री भएका छन् । यस्तै नेपाल टेलिकमको २३ करोड ६२ लाख, एचआईडिसीएलको २३ करोड ४ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख, र अपर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर कारोबार कित्ताका आधारमा एचआईडिसीएलको ७ लाख ३ हजार ६१६ कित्ता सेयर कारोबार भएको छ भने संख्याको आधारमा मैलुङ्ग खोला जलविद्युत कम्पनीको ३ हजार ६३४ वटा संख्यामा कारोबार भएको छ ।
कारोबार रकमका आधरमा अपि पावरको सबैभन्दा धेरै १४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावर, एचआईडिसीएल, नेशनल हाइड्रोपावर, अपर तामाकोशी, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, र नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ ।











प्रतिक्रिया