दुधको मूल्य बढ्यो, प्रतिलिटर ५६.०४ रुपैयाँ निर्धारण

0
Shares

दुधको मूल्य ६.५२ रूपैयाँले बढेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ निर्धारण गरेको हो । यसअघि दुधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन सरकारलाई दबाब दिँदै आइरहेका थिए । उनीहरूले आफूहरूको माग पूरा नभएर आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन ।

सरकारले किसानले पाउने दुधको मूल्य बढाएसँगै अब त्यसको असर उपभोक्तामा पर्ने भएको छ । दुधको मूल्य वृद्धि भएसँगै उपभोक्ताले तिर्दै आएको मूल्यमा पनि स्वतः बढोत्तरी हुनेछ ।

हाल उपभोक्ताले आधा लिटर प्याकेट दुधलाई ३८ रुपैयाँमा खरीद गर्दै आइरहेका छन् । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गर्दै आइरहेको छ । हाल वार्षिक रूपमा औषत २ अर्ब रूपैयाँ बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदै आएको छ । चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिक रूपमा चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  १५ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।