
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।
बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताएका हुन् ।
पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ, उनले भने, हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ ।
नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौं, उनले भने, ‘यो मेरो प्राथमिकतामा रहेको विषय हो । ’
राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुनेछ, उनले भने, दुतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया