हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) अवितरित संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर छिट्टै लिलामी मार्फत बिक्री खुला गरिने भएको छ ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गतको बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामी बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गर्ने निर्णय गरेको हो ।
कम्पनीको माघ २० गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहको उक्त अवितरित हकप्रद छिट्टै लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बैठकले लिलामी बढाबढ प्रक्रियाको सूचना केही दिनभित्रै धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलसँग समन्वय गरी प्रकाशन निर्णय समेत गरेको छ ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अथाृत एक बराबर एक (१ः१) अनुपातमा कुल ११ करोड कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद निष्कासन गरेकोमध्ये राष्ट्रिय बीमा संस्थान, कर्मचारी सञ्चय कोष, र नागरिक लगानी कोष लगायतले खरीद नगरेपछि ३ करोड ३० लाख कित्ता सेयर अवितरित भएको थियो ।
सर्वसाधारणतर्फ अवितरित ३२ लाख २९ हजार ७९४ कित्ता सेयर भने कम्पनीले यसअघि नै लिलाम बढाबढ मार्फत बिक्री गरिसकेको छ ।साे सेयर असोज २२ गते शुक्रबार शिलबन्दी बाेलपत्र खुला गरेर कार्तिक ७ गते बाँडफाँड गरिसकेको छ । संस्थापक सेयर बिक्रीका लागि न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्थाका कारण संस्थापक सेयर खरीदका लागि कुनैपनि आवेदन परेको थिएन ।
संस्थापक सेयर बिक्री नभएपछि कम्पनीको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीको नियम १० मा संसोधन गर्दै लिलामी मार्फत सेयर बिक्री गर्न कम्पनी संस्थापना भए पश्चात संंस्थापक समूहको सेयर खरिद गर्नेको हकमा न्यूनतम १ करोड कित्ता सेयर खरीद गर्नुपर्ने व्यवस्थामा संसोधन गरेको थियो । सो नियममा सेयरधनीले कम्पनीको संस्थापक हुन कम्तीमा १ करोड कित्ता सेयर लिएको हुनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा यसमा तर, कम्पनी संस्थापना भए पश्चात संंस्थापक समूहको सेयर खरिद गर्ने सेयरधनीको हकमा सो सीमा लागू हुनेछैन भन्ने वाक्यांश थप गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया