राष्ट्र बैंकले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने, प्रस्ताव माग

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कर्मचारी सुरक्षण कोषमा रहेको उक्त २१ करोड रुपैयाँ केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा एक वर्ष अवधि (३६६ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

विसं २०७८ फागुन ४ गतेदेखि बैंकले उक्त रकम २०७९ फागुन ४ गतेसम्म मुद्दती राख्न खोजेको छ ।

केन्द्रीय बैंकका अनुसार कुल लगानी गरिने रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ लगानी गर्नेछ ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी यहि माघ २३ गते आइतबार बेलुका पाँच बजेसम्म बोलकबोल पेश गर्नुपर्ने छ । मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्थाहरुका लागि केही सर्त समेत तोकेको छ । जस अन्तर्गत न्यूनतम पूँजी कोष कायम गरेको, सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, निक्षेप लिनको लागि खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने सर्तहरु तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहिबार  १४ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।