
मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा संघको टोलीले मीरगंज पुलको समस्या निराकरण एवं सम्भावित वैकिल्पक मार्गहरु मार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररिया स्थित विभिन्न भारतीय अधिकारीहरुसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ ।
अध्यक्ष नवीन रिजाल सहित सचिव संजय श्रेष्ठ, कार्यकारी सदस्यहरु मनिष मारु, गोपाल अग्रवाल लगायतको टोलीले भारतको अररिया स्थित समाहरणालय (कलेक्टरको कार्यालय) मा अररियाका कलेक्टर एवं डिष्ट्रीक्ट मेजिस्टे«ट प्रशान्त कुमारज्यूलाई पत्र बुझाएको छ । यस्तै त्यहाँका प्रहरी उपरिक्षक श्री विनोद कुमार सिंहज्यू सहित भारतीय जनता पार्टीका मन्त्री माननीय अजय कुमार झा र जिल्ला महामन्त्री माननीय दिलिप झालाई समेत भेटघाट गरी क्षतिग्रस्त मिरगञ्ज पुलका कारण नेपाली उद्योगी/व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे अवगत गराई त्यसको शीघ्र समाधानका लागि सुझावहरु पेश गरेको छ ।
भेटघाट एवं ज्ञापन पत्र मार्फत अध्यक्ष नवीन रिजालले विराटनगर नाकासम्मको भारतका बथनाहा–जोगबनी मार्गमा अवस्थित मीरगञ्ज पुल गत जनवरी ६ तारिकमा क्षतिग्रस्त भएयता करिब एक महिनादेखि सो मार्गबाट मालवाहक सवारी साधनहरुको आवागमन अवरुद्ध हुन पुगेको बताए । उनले सोही कारण दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु हाल भीमनगर-भन्टावारी नाका प्रयोग गर्दै थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताएका थिए ।

साथै, अध्यक्ष रिजालले त्यसबाट नेपाली उद्योगी/व्यवसायीहरुलाई प्रति मालवाहक सवारी साधनमा करिब २० हजार सम्मको आर्थिक व्ययभार थप हुन पुगेको जनाउँदै त्यसको निराकरणका लागि भारतीय पक्षबाट तत्कालै विकल्पहरु अपनाउन अनुरोध सहित संघको तर्फबाट सुझावहरु पेश गरेका छन् ।
सो क्रममा अध्यक्ष रिजालले विराटनगर नाका मार्फत नेपाल प्रवेश हुने ३० मेट्रिक टन सम्मका सवारी साधनहरु सहित भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनु पर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पुललाई अस्थायी रुपमा आगामी ३ दिन भित्र संचालनमा ल्याउने व्यवस्था गरिनु पर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्य समेत शीघ्रताका साथ सम्पन्न गरिनु पर्ने आदि सुझावहरु प्रस्तुत गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया