विद्युत् आपूर्ति नहुँदा कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

0
Shares

कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए ।

सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । “सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन”, कोल्टीका व्यापारी जनम धामीले भने । समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकी समेत प्रभावित भएको छ । बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ ।

टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् । हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ ।

बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताए । हवाई सेवा सुरु भए प्राविधिक पठाउने उनले जानकारी दिए ।

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अबरुद्ध हुने गर्दछ । गत बिहीबारुको हिमपातले बाजुरा सहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।