
भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ ।
भन्सार विभागले बुधबार सूचना जारी गर्दै फागुन २८ गते दिउँसो २ बजे परीक्षा हुने जानकारी दिएको हो । विभागका अनुसार परीक्षा केन्द्र भने पछि प्रकाशन हुनेछ ।
लोक सेवा आयोगको कोभिड सम्बन्धि मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गरिने उक्त परीक्षाका प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने भन्सार विभागले जनाएको छ । कोरोना महामारीका कारण करिब एक वर्ष अघि खुलाइएको आवेदन रोकिँदै आएको थियो ।
यस्तै लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ । अन्तर्वार्तामा पास हुने उम्मेदवारले नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ विभागलाई बुझाउनुपर्छ ।
भन्सार एजेन्टको इजाजतपत्रका लागि विभिन्न ६६० पदका लागि साढे ९ हजार जनाले आवेदन दिएका छन् । भन्सार एजेन्टको इजाजतपत्रका लागि २०७७ साल चैत १७ गते दरखास्त मागिएको थियो । विभागले भन्सार नियमावली, २०६४ को नियम ३७ (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आह्वान गरेको थियो । भन्सार एजेन्टमा झन्डै २२ वर्षपछि नयाँ भर्ना खुलेको हो ।
भन्सार ऐनअनुसार अनुमति प्राप्त भन्सार एजेन्ट (व्यक्ति) हरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्ने गर्दछन् । भन्सार ऐनको दफा ५१ मा एजेन्टले मात्रै उक्त काम गर्न सक्ने र निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रुपमा काम गर्न चाहने व्यक्तिले भन्सार विभाग वा भन्सार कार्यालयबाट एजेन्टको इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
यसअघि तोकिएको परीक्षा कोरोना संक्रमणका कारण पटक पटक स्थागित भैसकेका छन् । २०७८ जेठ २२ गते तथा माघ २९ गते तोकिएको परीक्षा स्थगित गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया