निर्वाचन लक्षित बजेटबारे मन्त्रीहरुबचि छलफल


अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकायको बन्दोबस्तीको विषयमा छलफल भएको हो ।

छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए । सहसचिव डा भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउने छ । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे जानकारी गराइने बताएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थमन्त्रीसँग छलफल गरेका हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।