क्यासिनोको ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ ।

मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो ।

विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए ।

ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।