बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन् ।
मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बीमा सहकारी संस्थाको १९औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिने समेत दाबी गरे ।
“यसअघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिन्छ”, उनले भने ।
मन्त्री हुमागाईँले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औंल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माण लगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एकीकृत सामाजवादी) का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले बिमा–सेवाको दायरा फराकिलो हुनुपर्ने उल्लेख गर्दै नगरका सबै वडामा पशु बीमा कार्यक्रम पु¥याउन अझै बाँकी रहेको बताए ।
वडाध्यक्ष विष्णुमणि नेपाल, मण्डनदेउपुर सहकारी सङ्घका अध्यक्ष सुमन नेपाल, सहकारीविज्ञ दीपकप्रसाद पौडेल लगायतले सहकारीले किसानको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै पशु बीमा कार्यक्रममा सबै किसानलाई समेट्न आग्रह गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम नेपालले संस्थाको गतिविधि तथा कोषाध्यक्ष टङ्कप्रसाद नेपालले आर्थिक विवरण प्रस्तुत गरेका थिए । विसं २०५६ देखि सुरु भएको यहाँको पशु बिमा कार्यक्रममा हाल ५९० किसान आवद्ध छन् ।
हाल आफ्नै भवन निर्माण गरेको संस्थाले दुई लाख ४० हजार नाफा गरेको छ भने एक वर्षमा तीन लाख ७० हजार बराबरका पशु क्षति रकम वितरण गरिसकेको छ । नगरमा १७२ सहकारी छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया