
गत मंगलबार माइतीघर मण्डलामा एक हुल विद्यार्थीहरु नेपालको शिक्षा विकासमा अग्रपङ्तिमा रहेको मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) विरुद्ध नाराबाजी गरिरहेका थिए ।
ती नारा लगाउनेहरु कुनै राजनैतिक स्वार्थ पूर्तिका लागि राजनैतिक दलका भातृ संगठनमा आबद्ध विद्यार्थीहरु थिएनन्, उनीहरु भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थानबाट सीए अध्ययन गरी नेपाल आएका विद्यार्थी थिए । जो आफ्नो शैक्षिक स्तर निर्धारण गर्नका लागि आन्दोलित भएका हुन् ।
भारतमा सीए अध्ययन गरी आएका विद्यार्थीहरुलाई त्रिविले सन् २०१८ पछि कुनै पूर्व सूचना बिना नै समकक्षता दिन बन्द गरेको छ । आफ्नो शैक्षिक स्तरकेो समकक्षता रोएिपछि अधिकारका लागि विद्यार्थीहरु आन्दालनमा उत्रिएका हुन् ।
समकक्षता प्राप्त गरेको सर्टिफिकेटको अभावका कारण नेपालमै उच्च शिक्षा हासिल गर्न तथा विदेशमा गई विद्यार्थीहरुले पढ्न नपाएको गुनासो विद्यार्थीहरुले गरेका छन् । विदेश गई पढ्ने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ चाहिन्छ जुन समकक्षता प्राप्त गरेको सर्टिफिकेट बिना मिल्दैन ।
नेपालमा गैरसरकारी तथा सरकारी जागिरको लागि पनि न्यूनतम शैक्षिक योग्यता स्नातक पास गर्नुपर्ने रहेको र सीए पास भएता पनि हातमा स्नातकको डिग्री नहुँदा आफ्नो दक्षता अनुसारको सरकारी तथा गैर–सरकारी जागिरमा संलग्न हुनु नपाएको विद्यार्थीहरुको गुनासो रहेको छ । त्यसका साथसाथै स्नातक सम्मको समकक्षता नपाउँदा स्नातकोत्तर अध्ययन गर्नुबाट आफूहरु बञ्चित हुनु परेको विद्यार्थीहरु बताउँछन् । सन् २०१८ अगाडि भारतबाट सीए अध्ययन गरी आएका विद्यार्थीलाई समकक्षता दिँदै आएको त्रिविले २०१८ पछि समकक्षता दिन छोडेको हो । त्रिविले चार वर्षसम्म समकक्षता नदिएको भन्दै विद्यार्थीहरु पछिल्लो समय सडकमा नै ओर्लिएर आन्दोलित भएका हुन् ।
भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थान र इन्दिरा गान्धी राष्ट्रिय खुल्ला विश्वविद्यालय (इग्नु) बीच भएको सम्झौता अनुसार सीए अध्ययन गर्दै गरेका विद्यार्थीले इग्नुबाट डिस्ट्यान्टलर्निङ विधिबाट अध्ययन गरी एक पटक परीक्षा दिएर पास हुने सुविधा रहेको छ । तर नेपालमा डिस्ट्यान्ट लर्निङ विधिबाट वा अनलाइन माध्यमबाट अध्ययन गरेर आएका विद्यार्थीहरुलाई समकक्षता नदिने प्रावधान रहेकाले प्रदान गर्न नसकिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रोफेसर डा.पारस नाथ यादवले जानकारी दिए ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रो.डा.पारसनाथ यादवले भने, “सन् २०१८ मा नयाँ डीन नियुक्त भई आउनुभयो । नयाँ समिति गठन भए लगत्तै हामीले समकक्षता सम्बन्धी नयाँ निर्देशिका ल्यायौं । निर्देशिकामा सीए एक व्यवसायिक पाठ्यक्रम रहेको र विद्यार्थीले कुनै संस्थामागई अध्ययन गरेको बोनाफाइड सर्टिफिकट पेस नगरेसम्म समकक्षता नदिने प्रावधान अघि सा¥यौं । विद्यार्थीको विश्वसनीयता मापन गर्ने बोनाफाइड सर्टिफिकेट नदिएसम्म त्रिवि समकक्षता निर्देशिका २०७७ ले सीए अध्ययन गरी आएका विद्यार्थीहरुलाई समकक्षता दिन मिल्दैन ।”
उनले थपे, “यस निर्देशिकाले विद्यार्थीहरुलाई पूर्ण न्याय गर्न सकेको छैन, त्यसैले हामी यसलाई परिमार्जन गरी विद्यार्थीको माग पूरा हुने गरी नयाँ निर्देशिका ल्याउने तयारी गर्दैछौं ।” केही दिनमा उक्त निर्देशिका सम्बन्धी तयार गरिएको प्रतिवेदन कार्यकारिणी कार्यालयबाट पाठ्यक्रम विकास केन्द्रमा आउने र त्यस अनुसार विद्यार्थीहरुका गुनासालाई सम्बोधन गर्ने उनको भनाई छ ।

भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थानबाट सीए अध्ययन गरी इग्नुबाट बी.कम पढेका विद्यार्थीले भने “विद्यार्थीहरुले उपकूलपति कार्यालयमा गएर नारा लगाउँदा मौखिक रुपमा समकक्षता दिन्छौं भन्छन् । समकक्षता लिनका लागि अनलाईन माध्यमबाट आवेदन दिनका लागि र्पोटल पनि खुलेको तर आवश्यक प्रमाणपत्र पेस गर्दा चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने बनाइएको छ । इग्नुले चारित्रिक प्रमाणपत्र दिँदैन र हुँदै नभएको चारित्रिक प्रमाणपत्र कहाँबाट ल्याउने ? यसरी त्रिविले अड्काउने काम मात्रै गरेको छ ।”
सरकारले समकक्षता नदिँदा अध्ययन सकाएर नेपाल फर्केर केही गरौं भन्ने सोचभएका विद्यार्थीमा नैराश्यता मात्रै नल्याई प्रतिभा पलायनको जोखि समेत बढेको उनको भनाई छ । यसमा सरोकारवाला पक्षहरुको ध्यानाकर्षण हुनु आवश्यक रहेको उनले बताए ।
विद्यार्थीको समस्याप्रति आफुहरु जिम्मेवार रहेको भन्दै पाठ्यक्रम विकास केन्द्रका निर्देशक यादवले नयाँ निर्देशिकाले विद्यार्थीको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले भने “यसको लागि नयाँ निर्देशिका आउँदै छ । परिमार्जित निर्देशिका अनुसार प्रक्रिया अगाडि बढ्छ ।”
आफूहरुले समय र मिहिनेत खर्चेेर शैक्षिक योग्यता हासिल गरेको तर त्रिविले त्यसको कुनै कदर नगरी वेवास्ता गरिदिँदा आफूहरु निरुत्साहित मात्र नभई त्रिविको ढिलासुस्तीले करियर विकासको ढोका नै बन्द गरिदिएको ती विद्यार्थीले बताए । भारतमा सीए उत्तीर्ण गरेकोहरुलाई पोस्ट ग्य्राजुयड सरहको समकक्षता दिइएको तर नेपालमा त्रिविले स्नातकको समकक्षता दिनलाई पनि बाहानाबाजी गरेको उनको आरोप छ ।
सन् २०१८ पछि सीए व्यवसायिक पाठ्यक्रम रहेको कारण देखाउँदै समकक्षता दिइएको छैन, त्यस अघि सीए व्यवससायिक पाठ्यक्रम हो भन्ने थाहा नभएको हो त ? भन्ने प्रश्नको जवाफमा यादवले भने, “सन् २०१८ अघि पहिलेका नजिरका आधारमा समकक्षता दिइँदै आइएको थियो । जुन निर्णय पुर्नविचार गर्ने भनी अघि सारिएको थियो । फलस्वरुप नयाँ निर्देशिका बनेको हो । नयाँ निर्देशिकामा अनलाइन तथा डिस्ट्यान्ट लर्निङ विधिबाट पढेर आएकालाई समकक्षता दिने प्रावधान छैन । जुन नियममा नै छैन, त्यो हामी गर्न सक्दैनौं । ”

आकर्षक तलव तथा प्रतिष्ठाका कारण पछिल्लो समय सीए पेसा सर्वाधिक लोकप्रिय बन्दै आइरहेको छ । सोही कारण अध्ययन गर्नका लागि नेपालबाट ठूलो सङ्ख्यामा विद्यार्थीहरु भारत जाने गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया