बैंकिङ कसुर बढ्दै, काठमाण्डौंमा चेक बाउन्सका साढे ३ हजार उजुरी दर्ता

0
Shares

संघीय राजधानी काठमाण्डौंमा चेक बाउन्सका कारण बैकिङ कसूर अन्तर्गत उजुरी गर्न आउनेहरुको ओइरो लाग्न थालेको छ । महानगरिय प्रहरी परीसर टेकुका अनुसार हाल अन्य उजुरीको तुलनामा बैंकिङ कसुरका उजुरी बढ्न थालेको हो ।

उजुरी गर्नेमा व्यापारी, जग्गा कारोबारी, घरजग्गा नामसारी, व्याजमा पैसा लगाउनेहरू बढी रहेको परीसर टेकुले जनाएको छ ।

यसरी उजुरीको संख्या बढ्दै जाँदा सर्वसाधारणमा पनि चेकप्रतिको विश्वसनीता माथि प्रश्न नउठ्ला भन्न सकिन्न ।

पटक–पटक बाउन्स हुने गरी चेक दिनु बैंकिङ कसूर हो । चेक नगद सो सरह हुन्छ। नेपाल राष्ट्र बैंकले कारोबारमा नगदको सट्टा सबैजसो कारोबारहरु बैंक मार्फत गर्न आग्रह गर्दै आइरहेको छ । तर पनि चेक बाउन्सका कारण उजुरी गर्न आउने पिडितको संख्या घटेको छैन ।

चालु आर्थिक वर्षको करिब ७ महिना अवधिमा काठमाण्डौमा मात्र चेक बाउन्सका कारण बैकिङ कसूर अन्तर्गत उजुरी गर्नेको संख्या ३ हजार भन्दा बढी रहेको छ । परिसर टेकुका अनुसार यस अवधिमा परिषस टेकु, परिसर काठमाण्डौ, महाराजगन्ज, मालीगाउँ, लैनचौर, नयाँ बानेश्वर, वौद्ध, गौशाला, जनसेवा, दरबारमार्ग, सिंहदरबार, थानकोट, किर्तिपुर, बालाजु र स्वयम्भु वृत्तामा ३ हजार ६९१ वटा उजुरी परेको हो ।

यस समयमा ३ अर्ब रुपैयाँ भन्दा बढीे रकम दावि गर्दै उजुरी परेको परिसर टेकुका सही कृष्ण अधिकारीले बताएका छन् ।

परिसरका अनुसार उक्त उजुरी मध्य २ हजार ८२ उजुरी मुद्धा दर्ता प्रकृयामा आएका छन् । भने टेकुले उपलब्ध गराएको तथ्यांक अनुसार १ हजार ६३३ उजुरी मुद्धा दर्ता नभई मिलापत्र भएको र फलोअपमा रहेका छन् ।

कसरी हुन्छ ‘चेक बाउन्स’ ?

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु नै ‘चेक बाउन्स’ हुनु हो ।

खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्दछ । यसरी पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउने सजाय सम्म हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने परिसरले जनाएको छ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।