पोखराको मिनिमार्केटका ३२ पसल जल्दा एउटालाई मात्रै क्षतिपूर्ति !

0
Shares

पोखराको नयाँ सडकस्थिति मिनि मार्केट कम्प्लेक्समा गत साउन २८ गते आगलागी भई ३२ पसल जलेकोमा एक जनाले मात्र साढे ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। आगलागीबाट ३० पसल र २ वटा कार्यालयमा क्षति भएकोमा एक मात्र शुभ यूनिक होम डेकोरेशनका मालिक लिलाधर ढुंगानाले मात्र आगलागीको क्षतिपूर्ति पाएका हुन्।

उक्त क्षतिपूर्ति सरकारी वा कुनै निकायले वितरण गरेको नभई ढुंगानाले एनसीसी बैंकबाट कर्जा लिदाँ आफ्नो पसलको आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा बीमा गराएका कारण उक्त घटनामा भएको क्षतिपूर्ति पाएका हुन्। जलेका अन्य ३१ पसलहरुले भने बीमा नगराएको कारण क्षतिपूर्ति पाउन सकेनन्।

भदौ ४ गते अर्थमन्त्री युवराज खतिवडा, पोखरा महानगर पालिकाका नगर प्रमुख मानबहादुर जीसी, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा आईएमई जनरल इन्स्योरेन्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल, र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी र आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठले पीडित ढुंगानालाई ३१ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

क्षतिपूर्ति रकम हस्तान्तरण गर्दै इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेशभक्त बादे श्रेष्ठले आगलागीबाट भएको धनमालको क्षति भएका सबैप्रति दुःख व्यक्त गर्दै बीमित लिलाधर ढुंगानालाई निजको पसलमा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले थोरै प्रिमियम भुक्तानी गरे आफ्नो सम्पत्तिको बीमा गरि ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे।

मिनि मार्केट कम्प्लेक्समा रहेका ३० पसल र २ कार्यालय जल्दा लाखौं लगानी गरेर व्यापार गर्दै आएका करिब तीन दर्जन पीडितको लाखौं लगानी खरानी भएकोमध्ये एक जना शुभ यूनिक होम डेकोरेशनका लिलाधर ढुंगानाले मात्र क्षतिपूर्ति पाएका हुन्। ढुंगानाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ५ हजार ७७५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गराएका थिए।

अहिले पनि आफ्नै लगानीमा व्यवसाय गर्नेहरुले भने बीमा गर्ने गरेका छैनन्। जसले भवितब्य पर्दा लाखौंको सम्पत्ति गुम्दापनि राहत पाउने गरेका छैनन्। बीमाको महत्व बुझेकाहरुले नै बीमा गर्ने परिपाटी बसेको छैन भने बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्नेहरुले मात्रै बीमा गर्ने गरेका छन्।