एमसिसी टेबुल गर्न सहमति जुटेन, गठबन्धनभित्रै दुई थरी मत

0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ ।

उक्त प्रस्तावलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस नगर्ने स्थिति बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले यस प्रकारको राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई सहमति नलिई अघि नबढ्ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताएका थिए। प्रतिपक्षलाई विश्वासमा लिएर नजाँदा लोकतन्त्र ‘डिरेल’ हुने उनीहरुको तर्क थियो ।

नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू लगायतले सो प्रस्ताव पेस गर्नुपर्ने अडान राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।