
इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका लगानीकर्ताहरुको २ हजार ५५२ वटा आवेदन रद्द भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार दोहोरो आवेदन गरेका कुल २३ लाख ३१ हजार २५८ वटा आवेदन मध्ये २ हजार ५५२ वटा आवेदन रद्द भएको हो ।
आईपीओमा आवेदन परेको कुल २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरमध्ये २८ हजार ३६० कित्ताको आवेदन रद्द भएको हो भने २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको माग सदर भएको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बुधबार गरिएको बाँडफाँडमा भाग्यमानी ५१ हजार ६६२ जनाले गोलाप्रथाबाट १० कित्ता तथा ८ जनाले गोलाप्रथाबाट ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले माघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजी २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।
इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।
कम्पनीमा संस्थापकमध्ये सबैभन्दा धेरै चन्द्र प्रसाद ढकालले ७ लाख ५० हजार ६० कित्ता सेयरमा लगानी गरेका छन् । यस्तै, शुभाष चन्द्र संघाईले ६ लाख २५ हजार कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ६ लाख २२ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै कम्पनीमा बैंकर, उद्योगपति, सरकारी सेवामा कार्य गरेका पूर्व कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुको समेत लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया