स्रोत अभावमा पनि बैंकहरुले रोकेनन् कर्जा विस्तारको गति, एक अर्ब लिएर १५ अर्ब कर्जा

0
Shares

दैनिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब भन्दा धेरै स्थायी तरलता सुविधा लिने गरेका बैंकहरुले एक सातामा १५ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले एक सातामा एक अर्ब स्रोत संकलन गरेर १५ अर्ब रुपैयाँ बजार लगानी गरेका हुन।

बैंकिङ प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभावको समस्या जटिल बन्दै गएको भएपनि कर्जा विस्तारमा बैंकहरु अझै पनि संयम नभएको देखिन्छ । स्वदेशी तथा विदेशी मुद्रालाई एकिकृत गरेर हेर्दा कर्जा र निक्षेपमा खासै फरक नेदखिएको भएपनि स्वदेशी मुद्राको कर्जा तथा निक्षेप अस्वभाविक देखिएको छ ।

चालु आर्थिक वर्षको फागुन ६ गतेदेखि १३ गतेसम्मको अवधिमा २ अर्ब विदेशी मुद्रा निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरुबाट ११ अर्ब बराबरको विदेशी मुद्राको कर्जा घटेको छ । उच्च आयातका कारण विदेशी सञ्चितिमा परेको दबाब नियन्त्रण गर्न केन्द्रीय बैंकले आयातमा कडाई गरेको छ । त्यसले गर्दा पनि विदेशी मुद्राका प्रबाह भएको कर्जा घटेको हुनसक्ने एक बैंकले बताए । “विदेशी मुद्रामा जाने टिआर लोन पनि नेपाली रुपैयाँमा नै बुक हुन थालेकाले विदेशी मुद्राको कर्जा घटेको हो,” ती बैंकरले भने ।

फागुनको पहिलो सातामा पनि २ अर्ब विदेशी मुद्राको निक्षेप घटेको छ भने ९ अर्ब बराबरको कर्जा घटेको थियो । पछिल्लो समयमा विदेशी मुद्राको कर्जा निरन्तर घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको छ ।

बैंकर्स संघका अनुसार फागुन १३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा स्वदेशी मुद्रमा निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ भने विदेशी मुद्रमा रहेको निक्षेप भने ९४ अर्ब पुगेको छ । त्यसैगरी सो अवधिसम्ममा बैंहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । विदेशी मुद्रमा हुने कर्जा लगानी फागुन १३ गतेसम्म आइपुग्दा ६४ अर्बमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।